पोखराको फिर्के खोला संरक्षण अभियान, दुई दर्जन संरचनामाथि चल्यो डोजर

विजय नेपाल ११ जेठ २०८३ १७:०४ | Monday, May 25, 2026
18
SHARES
पोखराको फिर्के खोला संरक्षण अभियान, दुई दर्जन संरचनामाथि चल्यो डोजर

पोखरा– पोखराको बजार हुँदै बग्ने फिर्के खोलाको खोलाघर (सीमा) मिचेर बनाइएका संरचनामाथि पोखरा महानगरपालिका कार्यालयले आइतबारदेखि डोजर चलाएर हटाउन थालेको छ।

सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारीहरु, सुरक्षाकर्मीसमेतको सहयोगमा महानगरले विभिन्न ३ स्थानबाट डोजर चलाएर मापदण्ड मिचेर बनाइएका अस्थायी वा स्थायी संरचना भत्काउन थालेको हो।

पहिलो दिन आइतबार दुई दर्जन त्यस्ता संरचनामाथि डोजर चलाइएको महानगरले जनाएको छ। पोखरा वडा १८ का १२ वटा संरचना भत्काइएको हो भने पोखरा ४ मा १० वटा, पोखरा वडा ५ मा २ वटा, पोखरा वडा ७ र ८ सीमानाका २ वटा संरचना भत्काइएको हो।

फिर्के खोला मिचिएको विषयलाई लामो समयदेखि दलहरुले राजनीतिक मुद्दा बनाउँदै आएकामा अहिले आएर संरक्षण थालिएकोमा पोखरेलीले मेयर धनराज आचार्यको साहसिक प्रयासको प्रशंसासमेत गरेका छन्।

उनले गत सातामात्रै पोखराको अमरसिंह चोकका केही स्थायी तथा अस्थायी संरचनामाथि डोजर चलाएर भत्काइसकेका छन्। चाँडै नै पोखराको बसपार्क खाली गराउन सार्वजनिक सूचना जारी गरिसकेका छन्।

फिर्के खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रुपमा कार्यान्वयन गरिने मेयर आचार्य बताउँछन्।

पोखरा वडा १८, अँधेरीकुना मुहान रहेको फिर्केखोलाले पोखराका ३३ वडाहरुमध्ये ८ वटा वडाहरु छुन्छ। १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भइ बग्दै आएको छ। फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बुढापाका बताउँछन्। बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणको पर्दै गएको छ।

फिर्के संरक्षणका लागि मेयर आचार्यकै कार्यकालको सुरुआततिर २०८० असारमा प्राविधिक नापजाँच गरिएको थियो। नापजाँचपछि पिल्लर गाडेर खोलाको सिमानाभित्र पर्ने निर्माण भएका अस्थायी–स्थायी सबै १ सय ६० संरचना रहेको पाइएको थियो। ती संरचना हटाउन पोखरा महानगरले २०८० सालमै पनि प्रयास थालेकोमा तर उच्च अदालत पोखरामा रिट प¥यो।

लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगरले सार्वजनिक सूचना जारी गर्दै अघि बढेको हो।

पहिलो दिन पोखरा वडा ४ मा १० घरका संरचना भत्काइएको हो। तीमध्ये कुनै घरका गेट, पिल्लर, पर्खाल भत्काइएका छन्। वडाध्यक्ष देवकृष्ण पराजुलीले खोलाघरको मापदण्डभित्र परेका सबै संरचना भत्काइएको बताउँछन्।

पोखरा वडा ५ अन्तर्गत खोलाघरका २ वटा संरचना भत्काइएको हो। वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार घरका पिल्लर र पर्खाल भत्काइएको छ।

उता, पोखरा वडा ७ र ८ सीमानामा पर्ने लायन्स क्लबको भवन तथा एउटा मन्दिरको पनि संरचना भत्काइएको छ।

पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले आफ्नो वडाका ६ स्थायी र ६ अस्थायी संरचना भत्काइएको जानकारी दिए। ब्लकबाट निर्मित ६ अस्थायी टहरा भत्काइएको हो भने बाँकी घरका पर्खाल, गेटसमेतका डोजर चलेको हो। यो कार्य निरन्तर चल्नेछ।

डोजर चल्नुपूर्व मेयर आचार्यले जिरो किमीमा आयोजित कार्यक्रममा सो कार्यको शुभारम्भ गरेका थिए। सो अवसरमा उनले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणको लागि यो अभियान थालिएको बताए। उनले बृहत् पोखराको विकासका लागि अतिक्रमित संरचना भत्काउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान सुरुआत भएको बताए। उनले फिर्केखोलाबाट सुरु अभियान पोखरा बसपार्क हुँदै पोखराका सबै क्षेत्रमा पुग्ने दाबी गरे।

डोजर चलाउनका लागि तीन केन्द्रहरु छुट्टाइएको थियो। अँधेरीकुना केन्द्र (विन्ध्यवासिनी मन्दिरभन्दा पश्चिम), बूढानीलकण्ठ मन्दिर केन्द्र (फिर्के पुल) र जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय अगाडि) गरी तीन केन्द्र विभाजन गरिएको थियो। त्यसको नेतृत्व सम्बन्धित वडाध्यक्षले गरेका थिए। डोजर चलाउने बेलामा स्थानीयले सामान्य विरोध गरे पनि कडा सुरक्षाबीच उनीहरुको केही जोर चलेन।

यसैबीच, डोचर चल्ने संकेतपछि केही दिनअघि नै फिर्केस्थित फोटोग्राफर संघको भवन, जिरोस्थित लायन्स क्लबको भवन तथा केही संरचना स्थानीय आफैँले खाली गराइसकेका थिए।

प्रकाशित: ११ जेठ २०८३ १७:०४ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast