विद्युतीय भ्यानबारे भ्रामक प्रचार भयो : आयातकर्ता

हिमाल प्रेस ९ असार २०८२ २०:३६
विद्युतीय भ्यानबारे भ्रामक प्रचार भयो : आयातकर्ता

काठमाडौँ– नेपालमा हालको समयमा विद्युतीय भ्यान (ईभी भ्यान) को प्रयोग तीव्र रुपमा बढिरहेको छ। वातावरण संरक्षण, इन्धन खर्च न्यूनीकरण र स्वरोजगार सिर्जनाको दृष्टिकोणले योगदान पुर्‍याउने भएकाले यसको प्रयोग बढेको हो।

ईभी भ्यानको प्रयोग बढिरहेकै बेला पछिल्ला केही महिनादेखि विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन माध्यमहरूमा ईभी भ्यानप्रति भ्रामक र तथ्यहीन प्रचार फैलिएको विद्युतीय सवारी आयातकर्ताहरूको भनाई छ।

उनीहरूले केही सामाजिक सञ्जाल पेजहरूमा नियोजित रुपमा ईभी भ्यान दुर्घटनाका तस्बिरहरुलाई ‘ईभीको दोष’ भनेर प्रस्तुत गर्ने गरिएकोमा आपत्ति जनाएका छन्।
तस्बिरहरूमा गाडीको लोगो हटाइएको, स्रोत नखुलेको र कतिपय अवस्थामा डिजिल सवारीका तस्बिरहरूलाई समेत ईभी भनेर प्रचार गरिएको आयातकर्ताहरूले बताएका छन्।

यस्ता गतविधिले सामाजिक रुपमा गलत सन्देश प्रवाह गरी नेपालका ईभी प्रवद्र्धन अभियानमा नकारात्मक असर पार्ने सारोकारवालाहरूले बताएका छन्।

अधिकांश दुर्घटनाको जड बिग्रिएको राजमार्ग, साँघुरा र खाल्डाखुल्डीयुक्त सडक, अनियन्त्रित गति र चालकको लापारबाही रहेको बताउँदै ईभी आयातकर्ताहरूले ट्राफिक नियमको उल्लंघन, ओभरटेक गर्ने प्रवृत्ति, थकित अवस्थाको ड्राइभिङलगायतका कारणले दुर्घटना बढाएको जिकिर गरेका छन्।

धेरैजसो ईभी भ्यानहरू पुनः उर्जाजन ब्रेक प्रणाली र अन्य सुरक्षा प्रविधि जडान भएकाले दुर्घटनाको सम्भावना घटाउने गरेको उनीहरूको भनाइ छ।

नेपालका केही पहाडी मार्गहरूमा गति नियन्त्रण गर्न टाइमकार्ड प्रणाली लागू गरिए पनि प्रमुख राजमार्गहरूमा यो व्यवस्था कार्यान्वयनमा आउन नसकेको उनीहरूको भनाइ छ।

एक ईभी आयातकर्ता कम्पनीका प्रतिनिधि भन्छन्,‘हामीले चीनका सुरक्षित र प्रमाणित ब्रान्डहरू नेपालमा भित्र्याएका छौँ, जसमा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ। ईभीको आलोचना गर्नुभन्दा पहिला प्रमाणमा आधारित परीक्षण, सुरक्षा रिपोर्ट र दुर्घटनाको वास्तविक कारणलाई ध्यान दिनुपर्छ।’

निरन्तर भइरहेका झुटा प्रचारले ईभी प्रवद्र्धन अभियानमा अवरोध ल्याउन सक्ने उनको भनाई छ।

प्रकाशित: ९ असार २०८२ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast