भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

हिमाल प्रेस ७ असार २०८२ १८:५३
10
SHARES
भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

बुटवल– रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १ सय ५ रनको बलियो योगफल बनायो। प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए।

मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित १० ओभरमा जम्मा ४४ रनमात्रै बनायो। उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिए।

मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए। प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने।

यस्तै, दोस्रो खेलमा टिम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको टिम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो।

उसका लागि जावेद खानले ७३ रनको योगदान गरे। बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए।

जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रन मात्रै जोड्यो। उसका लागि अनिल जैसवारले ३० र दामोदर शर्माले २० रन बनाए। बलिङमा टिम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए।

खेलमा टिम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए।

यही असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी छन्। प्रतियोगिताको विजयी टिमले ८० हजार नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ। आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ।

यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ। प्रतियोगिताको शनिबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए।

प्रकाशित: ७ असार २०८२ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast