
काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दैै बर्तौलाले निलो स्कार्फ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुनः निलो स्कार्फ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए।
बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे।
त्यस्तै बर्तौलाले संघीय निजामति सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गरे। उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसदको अधिकारको बिषय भएको उल्लेख गरे।
संघीय निजामति सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए।