सुनचाँदी व्यवसायीको प्रदर्शन जारी, कर फिर्ता लिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण

हिमाल प्रेस ३ असार २०८२ १५:३०
12
SHARES
सुनचाँदी व्यवसायीको प्रदर्शन जारी, कर फिर्ता लिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यो व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ। सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरुको माग छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित संघसंस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले विलासिता कर लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो।

ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरे।

प्रकाशित: ३ असार २०८२ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast