स्कटल्यान्ड हराउने ‘करण इनिङ्स’

हिमाल प्रेस २० जेठ २०८२ ६:२६
70
SHARES
स्कटल्यान्ड हराउने ‘करण इनिङ्स’

काठमाडौँ- करण केसीको उत्कृष्ट, रबाफिलो र चमात्कारिक ब्याटिङले नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ मा घरेलु टिम स्कटल्यान्डविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

नेपालले सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करणले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो। यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र २०२४ मा क्यानडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए। करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो। नेपाललाई अन्तिम ओभरमा सात रन आवश्यक हुँदा पहिलो बलमै सन्दीप लामिछाने आउट भएका थिए।

कसरी जिताए करणले?

नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक थियो र ३ विकेट मात्र बाँकी थियो। गुल्शन झाले ४५औं ओभरमा २ छक्का प्रहार गरे भने ४६औं ओभरमा उनी आउट भएपछि नेपाललाई ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो।

त्यसपछिको ओभरमा सफिया सरिफले जम्मा ५ रन मात्र दिएपछि अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल १५९-८ को अवस्थामा थियो। करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो।

४९औं ओभरमा सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए। करणले त्यसपछिको २ बलमा २-२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो।

उक्त बल डाउन द लेग वाइड भएपछि बाइको रन लिन पनि भागेका रिजन रनआउट भए तर अम्पायरले वाइडको इशारा गरेपछि नेपालको १ विकेटको जित ठहर भएको हो। अन्तिम ओभर बलिङका निम्ति आएका मार्क वाटले सन्दीपलाई जर्ज मुन्सीबाट क्याच गराएका थिए।

करणबाहेक, नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले। गुल्सन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहितकुमार पौडेलले ३७ र आसिफ सेखले २० रन थपे।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले तीन विकेट लिए। ज्याक जार्भिस र माइकल लियस्कले समान दुई विकेट लिँदा मार्क वाट र जस्पेर डविडसनले एकएक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो। स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए।

कप्तान बेरिङ्टनले ४० रन थपे। यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे । माइकल लियस्क र जर्ज मुन्सीको नाममा क्रमशः १८ र १२ रन रह्यो। वार्क वाटले १० रन थपे।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए। यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ। नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो। तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १७ खेलबाट २० अंक जोडेको छ। स्कटल्यान्डमा आजैदेखि सुरु भएको त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २० जेठ २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast