 
                             
                                            काठमाडौँ- रोशन यक्सोको पहिलो कविता सङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ शनिबार अनामनगरस्थित युनियन हाउसमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ। सम्भव समूहको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, साहित्यकार शकुन्तला जोशी र कवि यक्सोले संयुक्त रूपमा सङ्ग्रह विमोचन गरे।
कार्यक्रमका प्रमुख अतिथि कुलपति भूपाल राईले कवि यक्सोका रचनाहरू जनताको दुःख, पीडा र उत्पीडनका अनुभूति बोल्ने कविताहरू भएको बताए। ‘पहिला कविहरूलाई उडन्ते बनाएजस्तो गरिन्थ्यो, जनताबाट टाढा राखिन्थ्यो,’ राईले स्मरण गर्दै भने, ‘तर अहिलेको कविता जनता हो। जनताको भाषा बोल्ने, जनताको आँसु देखाउने, उत्पीडनविरुद्ध उभिने कविता आवश्यक छ। कवि यक्सोका कविता पढ्दा मलाई लाग्यो- ती जनताकै कविता हुन्।’
उनले प्रवासमा बसेर पनि नेपाली समाजप्रति गहिरो सरोकार राख्ने रचनाहरू सृजना गर्ने यक्सोलाई धन्यवाद दिँदै भने, ‘त्यस्ता कविताहरू नेपाललाई झकझक्याउने, ब्युँझाउने शक्ति राख्छन् र यक्सोका कविता त्यही श्रेणीमा पर्छन्।’
कार्यक्रमका विशिष्ट अतिथि तथा समीक्षक विमला तुम्खेवा र शकुन्तला जोशीले यक्सोको कवितामा सामाजिक न्याय, समानता, मानव अधिकार र विविध आन्दोलनहरूका प्रतिबिम्बहरू देखिएको धारणा राखे। तुम्खेवाले भनिन्, ‘यक्सोका कविता बुलन्द आवाजमा सामाजिक असमानता र अन्यायविरुद्ध उभिएका छन्। जोशीले सङ्ग्रहका हरेक कविता समाज रुपान्तरणका कुनै न कुनै आन्दोलनसँग जोडिएका र कहिले जातीय शोषणविरुद्ध, कहिले वर्गीय अन्यायविरुद्ध रहेको बताइन्।
अहिले हङकङमा बसोबास गरिरहेका कवि यक्सो हङकङ साहित्यिक साझा शृङ्खलाका सहसंयोजक समेत हुन्। विमोचन कार्यक्रममा उनले आफ्ना आमाबुबालाई मञ्चमा आसिन गराएर कृति लोकार्पण गरेका थिए।
कवि यक्सोले आफ्ना अनुभव सुनाउँदै भने, ‘मैले आफ्ना भावना कागजमा पोख्न थालेको धेरै समय भयो। अब यी भावनाहरू तपाईंहरूका पनि बनून् भन्ने चाहनासहित यो संग्रह ल्याएको हुँ। मलाई तपाईंहरूको इमान्दार प्रतिक्रिया अपेक्षित छ।’

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका यक्सोले क्याम्पस जीवनदेखि नै साहित्यिक माहोल निर्माणमा सक्रियता देखाउँदै आएका थिए। उनले क्याम्पसहरूमा विद्यार्थीहरूलाई कविता, गजल, मुक्तक, निबन्ध लेखनमा प्रेरित गर्ने, कार्यक्रम सञ्चालन गर्ने गर्थे।
कविता मात्र नभई गजल लेखनमा पनि उनी उत्तिकै सशक्त छन्। विभिन्न साहित्यिक प्रतियोगिताहरूमा उनले पुरस्कार जितेका छन् र नयाँ पुस्ताका लागि मार्गदर्शकको भूमिकामा रहँदै आएका छन्।
कार्यक्रममा कवि रीमा केसी र एलिसा एकलासले संग्रहबाट कविता वाचन गरेका थिए। उनीहरूको प्रस्तुतिले श्रोतालाई संग्रहका भावनात्मक गहिराइमा डुबाएको थियो।
सम्भव समूहले कृतिकार यक्सो, प्रमुख अतिथि र विशिष्ट अतिथिसहित कविता वाचन गर्ने सर्जकहरूलाई सम्मानपत्र प्रदान गर्दै साहित्यिक योगदानको कदर गरेको थियो। कार्यक्रमको सहजीकरण सम्भव समूहका सदस्य कवि संजीत फलानाले गरेका थिए। संग्रहलाई फिनिक्स बुक्सले प्रकाशन गरी बजारमा ल्याएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 