कविता

देश दुखेको छ

पृथक दाहाल २४ असोज २०८३ १५:२९ | Saturday, October 10, 2026
6
SHARES
देश दुखेको छ

नदी फर्काएर सहर पूरा भयो
किड्नी बेचेर रहर पूरा भयो ।
मलाई मैले कति ढाडे
आफ्नै मावीयता खण्डहर भयो।

प्रसव याचनाहरू राज्य सुन्दैन
सुत्केरीलाई ज्वानो ख्वाउन नपाएर
आत्महत्या प्रयास देख्दैन,
हजारौँ ग्यास कालोबजारी
नेताका भाषण मनपरी।

जनता हरेक धड्कनमा कर
यता मन मस्तिष्क खण्डहर

अब मर्न पनि सोच्नुपर्ने भो,
ए मानिसहरू हो अब त केही सोच
मरेकालाई भो नघोच ..!

आधा जनतालाई
चाउचाउले जन्डिस गरायो,
आधालाई चिउराले ग्यास्टिक गरायो,
केही मानिस अटेर्नु भएका छन,
अनि केही हन्मेर्नु भएका छन् ।

उता कुर्सी तानातान छ,
टेबल हानाहान छ,
याचनाका आवाजहरू
बन्द जानाजान छ ।

म र म जस्तालाई
ग्यासले हिर्कायो,
बासले हिर्कायो,
दैनिकीले हिर्कायो,
बेथितिले हिर्कायो,
अनि प्रकृतिले हिर्कायो।

सहिदका आत्मा चोकमा छन्
कीर्तिपुरहरू भोकमा छन्
नुवाकोट रसुवा सोकमा छन्
सरकार नेता झोकमा छन्
यो पशुपतिको देशमा
महादेव नै आफू बिजोकमा छन्।

हलेसी तुवाचुङ ४, खोटाङ

 

प्रकाशित: २४ असोज २०८३ १५:२९ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast