महाराज,
मलाई तिम्रो राज्यले दिएको एकथान नागरिकता
यही देशको हो !
तिमीलाई जस्तै मेरी आमाले मलाई जन्माउँदा
सालनाल यही देशको माटोमा गाडेको हो !
म लड्दा मेरो मुखमा लागेको माटोको स्वाद अझै ताजै छ !
तर पनि यो माटो मेरो किन भएन ?
महाराज,
तिमीले पाएको बिगौँबिगा जमिन
तोलाका तोला सुन आलिसान महल
महङ्गा विदेशी कपडाका राष्ट्रिय पहिरन
के जन्मिदै लिएर आएका हौ ?
महाराज,
मैले जोतेको जमिन कसरी तिम्रो भयो!
जुन माटोमा अहिले पनि मेरै पुर्खाको पसिना गनाउँछ
त्यही माटोमा कसरी ठडियो असमानताको पर्खाल!
माटोलाई आफ्नै मुटु ठानेर बगाए पनि रगत
किन एक थान लालपुर्जाबाट बन्चित गरियो मलाई!
मेरा पनि त छोराछोरी छन् तिम्रै जस्ता
किन अधिकार छैन दुई हात जमिनमा पनि उनीहरूको ?
महाराज,
यदि राज्यको डोजरले
तिम्रा सन्तान खेल्ने घरको छानो उदिनेको भए
फेरि कुन दरबार जलाउने उर्दी गर्थ्यौँ तिमी!
कि हामी जस्तै खाली आकाशमुनि बस्ने साहस!
समाएर लोकतन्त्र हात छिरे पनि सिंहदरबार
किन अपाच्य भएको छ स्वतन्त्रता
र खोसिरहेछौ हाम्रो अधिकार !!
महाराज,
के तिमीलाई तिम्रो दरबारको भित्ताको स्वाद थाहा छ?
के तिमीलाई तिम्रो दरबारको असली सुगन्ध थाहा छ?
तिमीले थोरै पनि चाट्यौ भने भित्ताको माटो
हाम्रै पसिनाको नुनिलो स्वाद पाउने छौ
र पाउने छौ पसिनाको अमिलो गन्ध
जसले तिमीलाई दिएको छ सुरक्षा
र पनि किन रेटिरछौ हाम्रो घाँटी
जगाएर हिटलरको प्रवृत्ति
उडेर पञ्चायती बर्को!
किन घुमिरहेछौ मृत महेन्द्रीय नली हाडको वरिपरि
अहङ्कार स्वघोषित श्रीपेच आफैँलाई लगाएर !!
महाराज, जसले उभ्यायो यो सहरको अस्तित्व
आज किन सकिरहेको छैनन् जोगाउन उनीहरू आफैँलाई
र गरिएका छन् रविन र इन्द्र बहादुरहरूले आत्महत्या!
के गरिबको हत्याले सरकारको आयु लम्बिने हो?
हामी कतिले गरिदिए मृत्युवरण
तिम्रो सत्ताको आयु पूर्ण हुने थियो
र टेकेर लासहरूमा निर्धक्क शासन गर्ने थियौ !
र टेकेर लासहरूमा निर्लज्ज शासन गर्ने थियौ !




