बैठकको निर्णय सुनाउँदै नेता डा. प्रकाशशरण महत।
काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको महाराजगन्जस्थित निवासमा सोमबार बसेको इतर समूहको बैठकले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट गरिएको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो।
‘सानेपाबाट भएको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा सहभागी हुने अवस्था छैन। त्यसैले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने।
तर इतर समूहले आफूहरू कुनै पदका लागि नभई पार्टी जोगाउने अभियानमा अघि बढेको दाबी गरेको छ। उसले उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा पनि सोही हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो।
महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने पूर्वकेन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा जिम्मेवारी दिने निर्णय संस्थापन पक्षले गरेको हो।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको बताए। उनले इतर समूहले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।
इतर समूहको पछिल्लो निर्णयसँगै कांग्रेसमा समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढ्ने सम्भावना थप बलियो भएको छ।


