
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ। राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो। २०७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीका समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले। करुण नायरले २७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन जोडे। ट्रिस्टन स्टब्स १४ बलमा २ चौकाको सहयोगमा १८ रनमा नट आउट रहे।
ओपनर केएल राहुलले २१ बलको सामना गर्दै ६ चौका र १ छक्काको सहयोगमा ३५ रनमा आउट भए। यसै खेलमा आईपीएल डेब्यु गरेका सेदिकुल्लाह अतल १६ बलमा २ छक्काको सहयोगमा २२ रनमा आउट भए। ओपनर समेत रहेका कप्तान फाफ डु प्लेसिसले १५ बलमा २३ रन जोडे।
पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ विकेट लिए। त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।
पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले।
मार्कस स्टोइनेस १६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे। विप्रराज निगमको बलमा स्टम्पिङ आउट हुनुपूर्व जोस इग्लिसले १२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे।
निगमकै बलमा बोल्ड आउट भएका ओपनर प्रभसिमरन सिंहले १८ बलको सामना गरेर २८ रन जोड्न सफल भए। अर्का ओपनर प्रियाशं आर्य दोस्रो ओभरमा ६ रन जोड्दै आउट भए । निहाल बढेराले १६ बलमा १६ रन जोडे।
दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए।