लेखकलाई नेता कोइरालाको सुझाव : राजीनामा दिएर छानबिनमा मार्ग प्रशस्त गर्नुस्

हिमाल प्रेस १० जेठ २०८२ १७:३६
30
SHARES
लेखकलाई नेता कोइरालाको सुझाव : राजीनामा दिएर छानबिनमा मार्ग प्रशस्त गर्नुस् फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएका छन्। कोइरालाले गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

‘गृह मन्त्रालय उहाँकै अन्डरमा छ। उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु, म अहिले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, सकियो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ,’ उनले भने।

नेता कोइरालाले निजामती विधेयकमा ल्याउन लागिएको कुलिङ पिरियडको प्रावधान उपयुक्त रहेको बताए। संवैधानिक निकायहरू सचिवहरूको ‘पोस्ट रिटायरमेन्ट क्लब’ जस्तो भएकाले पनि कुलिङ पिरियड आवश्यक रहेको उनको भनाइ छ।

‘रिटायर भएको भोलिपल्ट भइरहनु भएको छ, २२/२३ जना पूर्वसचिवहरू अहिले संंवैधानिक परिषद्मा हनुहुन्छ। यो त सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लब जस्तो देखिएन? कुलिङ पिरियड जरूरी छ,’ कोइरालाले भने।

उनले लोकतन्त्रमा विश्वास गर्ने दलहरू राजतन्त्रबारे जनमतसंग्रह गर्न डराउन नहुने बताए।

‘राजतन्त्रबारे जनमतसंग्रह गर्न किन चिन्ता लागेको छ?,’ कोइरालाले भने,‘नेपाली कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा उभिएर जनमतसंग्रह गरे भइहाल्यो नि। आफूलाई लोकतन्त्रवादी पनि भन्ने अनि डराउने पनि, दुईवटै सँगै जाँदैन।’

नेता कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशन ८२ को मंसिरमा गर्नुपर्ने अडान दोहो¥याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast