कांग्रेस विभाजनले लोकतान्त्रिक आन्दोलनमा आघात पुग्छ,मध्यमार्गी बाटो खोजौँ : कोइराला

हिमाल प्रेस १ असोज २०८३ १४:०५ | Thursday, September 17, 2026
कांग्रेस विभाजनले लोकतान्त्रिक आन्दोलनमा आघात पुग्छ,मध्यमार्गी बाटो खोजौँ : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गरेका छन्।

पार्टीको आन्तरिक जीवनमा आएको विभाजन र मुलुकको वर्तमान अवस्थाबारे विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले कांग्रेस विभाजनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका छन्।

उनले कांग्रेसको आसन्न दुई महाधिवेशनले पार्टी र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने भन्दै त्यसलाई रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका छन्।

‘कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ,’ उनले भनेका छन्।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालालगायतले पार्टीलाई निष्ठा, आदर्श र नैतिक शक्तिसहितको विरासत दिएको उल्लेख गर्दै उनले वर्तमान अवस्थामा पार्टी विभाजित र दिशाहीन बन्न पुगेको बताएका छन्।

‘दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीझैँ भएका छौँ,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्।

उनले हालै प्राकृतिक विपत्तिबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका नागरिकप्रति कांग्रेस संवेदनशील बन्नुपर्ने बताएका छन्।

चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडालाई बेवास्ता गरेर पार्टीभित्रको विवादमा मात्र केन्द्रित हुन नहुने उनको भनाइ छ।

‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ?’ उनले प्रश्न गरेका छन्।

कानुन र विधानका धारामा मात्र सीमित नभई मानवीय संवेदनालाई समेत केन्द्रमा राखेर पार्टीभित्र सहमति र सहकार्य गर्नुपर्नेमा उनको जोड छ।

पार्टी विभाजनबाट आफू उत्साहित हुन नसक्ने उल्लेख गर्दै उनले कांग्रेसभित्र कोही हार्ने र कोही जित्ने अवस्थालाई पार्टीको संस्कारसँग जोडेर हेर्न नहुने उनले बताएका छन्।

‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो,’ कोइरालाले भनेका छन्।

उनले पार्टी एकताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिनमा पनि यही अभियानलाई निरन्तरता दिने बताएका छन्।

गाउँटोलदेखि केन्द्र तथा विदेशमा रहेका कांग्रेसका नेताकार्यकर्तालाई पार्टी एकताका लागि अभियानमा जुट्न पनि उनले आग्रह गरेका छन्।

‘हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ। यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ,’ उनले भनेका छन्।

कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई अलग रूपमा बुझ्न नसकिने उल्लेख गर्दै कोइरालाले आफू गाउँघरमा पुगेर नेताकार्यकर्तासँग संवाद गर्दै पार्टी एकताको अभियानमा निरन्तर जुटिरहने बताएका छन्।

प्रकाशित: १ असोज २०८३ १४:०५ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast