कोइराला निवास पुनर्निर्माण बजेट अस्वीकार गर्दै शेखरले भने- गरिब जनताका लागि खर्च होस्

हिमाल प्रेस २२ साउन २०८३ १०:५९ | Friday, August 7, 2026
18
SHARES
कोइराला निवास पुनर्निर्माण बजेट अस्वीकार गर्दै शेखरले भने- गरिब जनताका लागि खर्च होस्

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।

डा.कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै बजेट फिर्तासम्बन्धी पत्रसमेत पठाएका छन्।

उक्त पत्रमा उनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको रकम सरकारलाई नै फिर्ता गर्न आग्रह गरेका छन्।

वर्तमान सरकारले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नागरिक चेतनाका धरोहर विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मघर संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारप्रति कोइरालाले धन्यवाद व्यक्त गरेका छन्।

तर, राज्यका सीमित स्रोतसाधन अभाव, गरिबी र विभिन्न कठिनाइमा रहेका आम नागरिकको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने भएकाले उक्त रकम स्वीकार गर्न आफू नैतिक रूपमा असमर्थ रहेको कोइरालाको भनाइ छ।

डा.कोइरालाले २०८२ भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित शताब्दी पुरानो कोइराला निवासमा आगजनी हुँदा ऐतिहासिक सम्पदा नष्ट भएको स्मरण गराएका छन्।

उक्त घर उनका पिता कृष्णप्रसाद कोइरालाले निर्माण गरेको र नेपाली राजनीतिक तथा सामाजिक चेतनाको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

बीपी कोइरालाले जीवनभर गाउँ, गरिब र किसानका पक्षमा संघर्ष गरेको उल्लेख गर्दै उनले राज्यले सीमित स्रोतसाधन विपन्न नागरिकको उत्थानमा खर्च गर्नु नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। कोइराला निवासप्रति न्याय गर्ने सबैभन्दा उपयुक्त उपाय पनि त्यही हुने उनको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।

प्रकाशित: २२ साउन २०८३ १०:५९ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast