तीनकुने घटना प्रकरण : धवल र रवीन्द्रसहित १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

हिमाल प्रेस १० जेठ २०८२ ८:१४ | Saturday, May 24, 2025
तीनकुने घटना प्रकरण : धवल र रवीन्द्रसहित १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस राजतन्त्र समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन।

काठमाडौँ- राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा गरेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आरोपितमाथिको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

उक्त घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठूलो भौतिक क्षति गराइएको थियो। जिल्ला प्रहरीपरिसर काठमाडौँले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदनमा पक्राउ गरेका ९० जना र फरार १८ जना गरी १०८ जनाविरुद्ध राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

प्रतिवेदनले उक्त घटनाका मुख्य आरोपित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र आपराधिक उपद्रव कसुर गरी पाँच वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणालगायतमाथि राज्यद्रोह तथा आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

परिसरका प्रहरी प्रमुख अपिलराज बोहोराले हिंसात्मक प्रदर्शनमा संलग्न आरोपितमाथि विभिन्न चार वटा कुसुरमा मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले बुझाएको अनुसन्धान अध्ययन गरी जिल्ला अदालत काठमाडौँमा अभियोजन दर्ता गरिने जानकारी दिए।

प्रकाशित: १० जेठ २०८२ ८:१४ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast