
काठमाडौँ- भारतको नयाँदिल्ली प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट रहेको आरोपमा एक नेपालीलाई पक्राउ गरेको छ।
आईएसआईको सदस्य रहेको आरोपमा प्रहरीले नेपाली नागरिक अन्सारुल मियाँ अन्सारीलाई पक्राउ गरेको हो। अन्सारुललाई नेपाली भनिए पनि ठेगाना खोलाइएको छैन।
२१ जना आईएसआई एजेन्टहरू पक्राउ पर्ने क्रममा पछिल्लोपटक नेपाली नागरिक अन्सारी पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एनआईले जनाएको छ।
उनीविरूद्ध यसै महिना अभियोगपत्र दायर भएको र हाल तिहाड जेलमा पठाइएको बताइएको छ। पाकिस्तान जाने तयारीमा रहेका उनलाई दिल्लीको एक होटलबाट पक्राउ गरिएको प्रहरीको दाबी छ।
अन्सारीले आफू कतारमा ट्याक्सी चालकको रूपमा काम गरिरहेको र यही सिलसिलामा आईएसआईसँग सम्पर्क भएको बयान दिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
कतारबाट पाकिस्तान लगिएका उनलाई आईएसआईका उच्च अधिकारीले केही दिन तालिम दिएको एएनआईले उल्लेख गरेको छ। अन्सारीलाई त्यसपछि नेपाल हुँदै दिल्ली पठाइएको र गोप्य दस्ताबेजहरू सिडी बनाएर पाकिस्तान बनाउन भनिएको दाबी गरिएको छ। अन्सारीको साथबाट सुरक्षासम्बन्धी महत्वपूर्ण गोप्य कागजातहरू बरामद भएको दिल्ली प्रहरीले जनाएको छ।
गत जनवरीदेखि मार्चसम्म दिल्ली प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा अन्सारी पक्राउ परेको एएनआईले जनाएको छ। भारतीय प्रहरीले पछिल्लो समय पाकिस्तानी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र जासुसी गरेको आरोपमा हरियाणाबाट युट्युबर ज्योती मलहोत्रालाई पक्राउ गरेको छ।