बौद्ध धर्म धार्मिक आस्था नभई सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो विषय हो : सभामुख

हिमाल प्रेस २९ वैशाख २०८२ ६:५४ | Monday, May 12, 2025
बौद्ध धर्म धार्मिक आस्था नभई सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो विषय हो : सभामुख सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन्।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वभर फैलिएको बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हो भन्ने तथ्यले नेपालीलाई गौरवको अनुभूति हुने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौँ मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको छ।’ नेपालमा बौद्ध धर्म मात्र एक धार्मिक आस्था नभई हाम्रो सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उनको भनाइ छ ।

‘नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो, बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोर्‍याउने मार्ग देखाउँछ’, सभामुख घिमिरेले भने।

बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उनको भनाइ छ ।

उनले भने, ‘शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान् बुद्धको जन्मजयन्तीले सम्पूर्ण मानव समुदायलाई आपसी सम्मान, संयम र सुदृढ सहकार्यतर्फ प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना प्रकट गर्दछु।’

प्रकाशित: २९ वैशाख २०८२ ६:५४ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast