
काठमाडौँ- नेकपा एमाले संसदीय दलले आफ्ना सम्पूर्ण सांसदहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। दलले ह्वीप जारी गर्दै सबै सदस्यलाई अनिवार्य रूपमा संसद्मा उपस्थित भई मतदान गर्न भनेको छ।
संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले आज जारी गरेको ह्वीपमा वैशाख २८ गते (आइतर) बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संयुक्त सदनमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिने कार्यसूची रहेको जनाइएको छ।
ह्वीपमा भनिएको छ, ‘नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरू अनिवार्य रूपमा उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।’
संविधानअनुसार राष्ट्रपतिले प्रत्येक वर्ष संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ। त्यसलाई पछि प्रतिनिधिसभामा छलफल तथा निर्णयार्थ पेस गरिन्छ। बहुमतले पारित भएमा उक्त नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अघि बढाइन्छ।