
काठमाडौँ- रघुवीर महासेठले एकलौटी गर्न खोजेपछि नेकपा एमाले धनुषाको नेतृत्व चयनमा भाँडभैलो मच्चिएको छ। महासेठले आफूअनुकुलको नेतृत्व ल्याउन खोजेपछि एमाले धनुषामा विवाद उत्पन्न भएको हो।
केन्द्रीय सचिव महासेठले एकलौटी गर्न खोजेको भन्दै एमालेको एक समूहले अधिवेशनस्थल महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा धर्नामा बसेका छन्। पूर्वप्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा जिल्ला अधिवेशनका प्रतिनिधिहरू धर्नामा बसेका हुन्।
निर्वाचन समिति सचिव महासेठको निर्देशनमा धाँधली गरिरहेको भन्दै आफूहरू धर्नामा बसेको उनीहरूले बताएका छन्। अरगरियाले प्रतिनिधि चयनदेखि मनोनयन दर्ता हुँदासम्म धाँधली भएकाले आफूहरू धर्नामा बसेको बताए।
‘धाँधली भएका दर्जनौँ घटनाहरू छन्,’ अरगरियाले भने,‘मनोनयन दर्ता गरेकाहरूको फर्जी हस्ताक्षर गर्न लगाएर उम्मेदवारी फिर्ता लिने जस्ता धाँधली भएका छन्।’
आफू अध्यक्ष मण्डलको सदस्य भए पनि निर्वाचन समितिले विवरण उपलब्ध गराउन नमानेको उनको आरोप छ। अरगरिया समूहबाट अध्यक्षका लागि उम्मेदवारी दिएका लक्ष्मीनारायण यादवले विधानअनुसार मापदण्ड पूरा नगरेकालाई पनि जबरजस्ती पदाधिकारीको उम्मेदवार बनाइएको आरोप लगाए।
दुवैपक्षबीच विवाद भएपछि अधिवेशनस्थलमा कुटाकुटसमेत भएको बताइएको छ। सचिव महासेठले पार्टीको धनुषा अध्यक्षमा भोला यादवलाई ल्याउन चाहेका छन्। यता अरगरिया समूहबाट लक्ष्मीनारायण यादवले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि उम्मेदवारी दिएका लक्ष्मीनारायाण मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका राजनीतिक सल्लाहकारसमेत हुन्।
यसअघि सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो। सर्वसम्मतिको प्रयास असफल भएपछि मतदान प्रक्रिया अगाडि बढेको हो। मतदानका लागि सोमबार नै समय तोकिए पनि विवाद चर्किएपछि मंगलबारका लागि सारिएको छ।