
काठमाडौँ- सशस्त्र प्रहरी बलले सीमा क्षेत्रको निगरानीमा कडाइ गरेको छ। सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले निगरानीलाई कडाइ गरेको हो।
सीमा क्षेत्रमा सक्रियता बढाएको सशस्त्र प्रहरी बलले २४ सै घण्टा सीमा गस्ती गर्ने र सिमानामा भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कामसमेत कडाइका साथ गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नका लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरूसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यलाई समेत तिब्रता दिइएको छ।
सीमामा आवतजावत गर्नेसँग आवश्यकताअनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाईका साथ गरिएको प्रवक्ता थापाले जानकारी दिए।
यसैगरी हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेको सशस्त्र प्रहरी नयाब महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनका लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका थिए।
महानिरीक्षक अर्यालको निर्देशनअनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरूले समेत यसलाई उच्च प्राथमिकतामा राखी सबै जिल्लाहरूमा सुक्षम रूपमा खबर संकलन तथा अप्रेसनल कार्यसमेत गरिरहेको थापाले बताए।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा निगरानीका लागि झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज र रूपन्देहीको बेलहिया नाकामा डग स्क्वाडसमेत परिचालन गरेर जाँच गरिरहेको छ।
सशस्त्र प्रहरी बलले विगतदेखि नै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाक्षेत्रमा २४ सै घण्टा रहने गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित लामो दूरीको पेट्रोललाई निरन्तरता दिएको छ।
भारतीय समकक्षीसँगको बाहिनी मुख्यालय, गण, गुल्म र बीओपीस्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरूको अवैध आवतजावतलाई रोक्ने विषय मुख्य एजेण्डाको रूपमा रहेकाले यहीअनुसार समन्वय गरी निगरानी बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसका साथै सरोकारवाला अन्य निकायसँगको समन्व्य र सहकार्यमा सीमानामा कडाईका साथ जाँच गर्ने, निगरानी बढाउने तथा अवैध क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरमा ल्याउन प्रधान कार्यालय निर्देशन तथा परिपत्र गरेको छ।
जम्मु–कश्मीरको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यो आक्रमणपछि भारतले त्यहाँ रहेका पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्दै स्वदेश फर्कन निर्देशन दिएको छ।
भारतको यो निर्देशनपछि खुला सीमानाको फाइदा उठाउँदै पाकिस्तानी नागरिक नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी सशस्त्र प्रहरी बलले निगरानीलाई कडा पारेको बताइएको छ।