
काठमाडौँ- सरकारले यही वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग भएका सहमतिहरू आज (वैशाख २१ गते) सार्वजनिक गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच भएका नौ बुँदे सहमति सार्वजनिक गरेका हुन्। शिक्षकका नौ बुँदे माग गत बुधबार (१७ वैशाख) मन्त्रिपरिषद् बैठकले अनुमाेदन गरेको थियो।
शिक्षा ऐन माग गर्दै शिक्षक कर्मचारीहरूले गत माघ २० गतेदेखि वैशाख १७ गतेसम्म देशव्यापी आन्दोलन गरेका थिए। ऐन तत्काल जारी नभएपछि महासंघले नौ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको थियो।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१. शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने,
२. अस्थायी प्रकृतिका राहत, अस्थायी, करार, साविक उच्च मावि, सिकाइ अनुदान र प्राविधिक धारका विशेष शिक्षक र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाको बखत एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय,
३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने,
४. आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने,
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा राहत, अस्थायी, करार, साविक उच्च मावि, प्राविधिक धार र विषय शिक्षकका सबै शिक्षकको प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने कानुनी प्रबन्ध गर्ने,
६. सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गर्ने,
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई पनि सूचिकृत गर्ने,
८. नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सबै शिक्षक, पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने र
९. निम्न मावि तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह हुने गरी कायम गर्ने।