
ललितपुर– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरी तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित ‘प्रवासमा नेपाल : सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए।
‘देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ,’ उनले भने।
सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे। उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
पार्टीका उपसभापति धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विदेशमा रहेका नेपालीको भिसा नवीकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए।
पूर्वउपसभापति विमलेन्द्र निधिले २०८४ को निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मत ल्याउन एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आगामी निर्वाचनमा स्वदेश र विदेशमा रहेका नेपालीहरूबाट कांग्रेसका पक्षमा कसरी मतदान हुन्छ त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।
निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जन गर्न र आर्थिक समृद्धिको रक्षाका लागि समन्वय विभागले भूमिका खेल्नुपर्ने उल्लेख गरे।
पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरुमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताए।
पार्टीका केन्द्रीय सदस्य एवम् विभागका पूर्वप्रमुख अर्जुन जोशीले नेपालमा भन्दा प्रवासमा बढी हुने हो कि भन्ने चिन्ता रहेको भन्दै यसलाई समाधान गर्न पार्टीले उचित निर्णय लिनुपर्ने बताए। उनले पार्टी र सरकारले विदेशमा रहेका नेपालीको भावना बुझ्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए।
विभागका प्रमुख एव पार्टीका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताए। उनले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको बताए।