यसरी परिवर्तन भएको थियो महासंघ अध्यक्ष सुवेदीको अडान!

हिमाल प्रेस १८ वैशाख २०८२ १०:०९
5.6k
SHARES
यसरी परिवर्तन भएको थियो महासंघ अध्यक्ष सुवेदीको अडान!

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच सम्पन्न वार्तामा नौ बुँदे सहमतिमा संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) का अध्यक्ष होमकुमार थापाले चर्को असन्तुष्टि जनाउँदै नेतृत्व तहको निर्णयप्रति गम्भीर प्रश्न उठाएका छन्।

वार्ताका क्रममा अध्यक्ष थापाले शिक्षक आन्दोलनमा देखिएको रणनीतिक विचलन, निर्णय प्रक्रियाको अपारदर्शिता र नेतृत्वको ‘चट्टानी अडान’ भित्रको कमजोरीमाथि आक्रोश पोखेका हुन्।

‘ऐनबाट मात्रै अधिकार सुनिश्चित हुन्छ, क्याबिनेटको निर्णयले होइन,’थापाले स्पष्ट पार्दै भने,‘तर ऐनको सुनिश्चितता नहुँदै आन्दोलन स्थगन गर्ने निर्णय कसरी भयो?’

थापाका अनुसार आफूले वार्ताको क्रममा क्याबिनेटमा लैजाने बुँदामा जोडदार विरोध गरे पनि अधिकांश नेताहरू मौन बसेका थिए। उनले शिक्षामन्त्री रघुजी पन्त्को आलोचना गर्दै भने,‘आफ्नै भाइको निजी विद्यालय भएको शिक्षामन्त्रीले शिक्षकको हितको कुरा किन लैजानुहुन्थ्यो?’

‘चट्टानी अडान राख्छु भन्ने मान्छेको अडान बालुवाको भन्दा कमजोर निस्क्यो त के गरौं? महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको अघिल्ला बैठकहरू र वैशाख १६ गते बिहानको बैठकको अडान वैशाख १६ को बेलुकाको बैठकसम्ममा आईपुग्दा पुरै १८० डिग्री परिवर्तन भएको थियो,’ थापाको भनाइ छ।

वार्ताको क्रममा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौलालगायतका नेताहरू मौन बसेको उल्लेख गर्दै थापाले भने,‘शिक्षामन्त्री पन्त त झर्किनु नै भयो, अरू नेताहरू सम्झाउनमै लागे।’

अध्यक्ष थापाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापासँग चर्काचर्कीसमेत भएको थियो। समितिका सभापति थापाले आफूलाई छेउमा राखेर ‘ऐनमा राख्न सहयोग गर्छु’भनेपछि मात्र आफू केही शान्त भएको थापाले बताए।

अध्यक्ष थापाले शिक्षक आन्दोलनको मोडालिटी, त्यसले पारेको प्रभाव (एसईई उत्तरपुस्तिका रोकिएको, भर्ना अभियानमा असर, परीक्षा सारिएको) आदिको सन्दर्भमा प्रश्न गर्दै भने,‘यति नै उपलब्धि त तेस्रो दिनमै लिन सकिन्थ्यो। २९ दिन आन्दोलन किन?’

यस्तो छ होमकुमार थापाको भनाइ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast