
काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि संगठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरेका छन्।
अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी संघीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गरे।
उनले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताए।
‘नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र संघर्ष गरेर बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्। किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन’, शुभकामना सन्देशमा भनिएको छ।
अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।