
काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरेका छन्। उनले आन्दोलनको सार्थक परिणाम निकाल्न चाहने हो भने विगतका सहमति कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएका छन्।
‘पूर्व शिक्षकनेताज्यूहरू, तपाईंहरू नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनलाई परिणाममुखी बनाउन चाहनुहुन्छ भने शिक्षक कर्मचारीको पक्षमा हुनुहुन्छ भने विगतमा तपाईंहरूले नै सरकारसँग गरेको सम्झौता कार्यान्वयनमा सहयोग गर्नुहोस्,’ काठमाडौँमा जारी १७ औं दिनको आन्दोलन प्रारम्भपूर्व अध्यक्ष अधिकारीले भने, ‘कुण्ठाग्रस्त भएर आन्दोलनको विरुद्ध भ्रम नछरौं।’
उनले शिक्षक महासंघ सार्थक वार्ताका लागि सधैँ तयार रहेको स्पष्ट पारे। अध्यक्ष अधिकारीका अनुसार हाल जारी आन्दोलन कुनै आकस्मिक वा सरकार वा कुनै नेताविरुद्धको राजनीतिक आन्दोलन नभई, शिक्षकहरूको शैक्षिक, पेसागत हकहितका विषयमा केन्द्रित आन्दोलन हो।
‘विगतका सरकारहरूले शिक्षकहरूसँग गरेको सहमति प्रतिबिम्बित विद्यालय शिक्षा ऐन जारी गराउन गरिरहेको आन्दोलन हो,’ अध्यक्ष अधिकारीले भने, ‘यो विशुद्ध शैक्षिक, पेसागत र नीतिगत विषयमा आधारित आन्दोलन हो।’