लोकतान्त्रिक गणतन्त्रप्रति दलहरू एकताबद्ध छौँ : योगेश भट्टराई

हिमाल प्रेस १८ चैत २०८१ १५:१३ | Monday, March 31, 2025
लोकतान्त्रिक गणतन्त्रप्रति दलहरू एकताबद्ध छौँ : योगेश भट्टराई योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध रहेको बताएका छन्।

‘राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फरक छैनौँ’, प्रतिनिधिसभाको सोमबार बैठकमा सांसद भट्टराईले भने, ‘नेपालको संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सिंगो राजनीतिक दल एकताबद्ध छौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलको उठाएको विषयलाई संविधान, नियम, कानुन, संसद्को नियमावलीमा रहेर संसद्मा सम्बोधन गरिरहँदा अवरोध गर्ने कार्यप्रति दल र संसद्को तर्फबाट भट्टराई निन्दा गरेका छन्।

‘प्रधानमन्त्रीले नेपालको संविधान, कानुन, संसद्को नियमावलीमा रहेर विपक्षीले उठाएको प्रश्नको विषयमा कुरा राखिरहँदा जसरी असाध्यै असहिष्णु तरिकाले अवरोध गर्न खोजियो, नेपालको इतिहासमा एउटा कालो धब्बा होला’, एमाले सचिव भट्टराईले भने, ‘तर यो संसदीय व्यवस्थामा यतिमै अतालिँदैन, क्षणिक आवेशबाट विचलित छैनौँ, सिंगो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु विचलित भएका छैनौँ।’

सचिव भट्टराईले गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको अप्रिय घटनामा परी श्रमजीवी पत्रकार सुरेश रजकको मृत्युप्रति भर्त्सना गरे उनले भने, ‘तीनकुनेमा इतिहासमा कहिल्यै नभएको घटना भयो, उक्त घटनाको म निन्दा गर्दछु, सांसद सन्तोष परियारको गाडीमा आगो लगाउने काम भयो, नचिनेको हुनाले उहाँ बच्न सफल हुनुभयो, दलको तर्फबाट म उहाँप्रति सहानुभूति प्रकट गर्दछु।’

सचिव भट्टराईले नेपालमा संवैधानिक राजतन्त्र र राजा चाहिन्छ भन्ने विषय सुुनिएको उल्लेख गर्दै विगतमा राजा र राजनीतिदलप्रति भएको सम्झौता पटकपटक उल्लंघन भएको बताए। ‘राजा र संसद्.बीचको सम्झौता पटक–पटक भयो। त्यो नभएको भए नेपालको लोकतन्त्र अझै सुदृढ हुने थियो’, उनले भने।

प्रकाशित: १८ चैत २०८१ १५:१३ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast