काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अधिकाधिक क्रियाकलापको भारी बोकाउन नमिल्ने बताएका छन्। उनले
बंगलादेश मोडलमा सत्तापलट गर्ने योजना बनाएका राजावादीहरूले आपराधिक क्रियाकलापको दोष सुरक्षाकर्मीलाई बोकाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। पोखरेलले सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन नहुने दाबी समेत गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अधिकाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभानो बन्न खोजिरहेका छन्।’
उनी थप लेख्छन्, ‘राजावादी र पूर्व पञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको थ्रेटका सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले।’



