राजावादीको रोकिएन अराजकता, कर्फ्यु लागेको क्षेत्रमा निस्कियो सेना

हिमाल प्रेस १५ चैत २०८१ १७:५४
78
SHARES
राजावादीको रोकिएन अराजकता, कर्फ्यु लागेको क्षेत्रमा निस्कियो सेना फाइल तस्बिर।

काठमाडौँ- तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएपछि त्यहाँबाट तितरबितर बनेका राजतन्त्र समर्थकले सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने क्रम जारी राखेका छन्। तीनकुने क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि राजावादीले आयोजना गर्न लागेको सभा बिथोलिएको थियो।

सभा बिथोलिएपछि प्रदर्शनकारीहरू थप उद्दण्ड बनेका थिए। उनीहरूले प्रहरीमाथि आक्रमण गरेका छन्। घटनामा केही प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले तीनकुनेस्थित निजी घर र नेकपा एककीकृत समाजवादीको केन्द्रीय कार्यालय बसेको भवनमा आगो लगाइदिएका छन्।

यसैगरी कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोडन गरेका छन्। प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटनी सुपरस्टोरमा लुटपाट मच्चाएका छन्।

सुपरस्टोरभित्र प्रवेश गरेका प्रदर्शनकारीले बियरका बोतल, शृंगारका सामान, विद्युतीय सामान लुटेर लगेको प्रत्यक्षदर्शीले बताए। उनीहरूले सुपरस्टोरमा पार्किङमा राखिएका गाडीमा पनि तोडफोड गरेका छन्। साथै पार्किङ क्षेत्रमा राखिएका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ।

तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूह कोटेश्वर जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्रको कार्यालयमा तोडफोड गरेका छन्।

यसैबीच कर्फ्यु क्षेत्रमा नेपाली सेना निस्किएको छ। सोहीअनुसार तीनकुने क्षेत्रमा सेना स्वतः परिचालन भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी गौरव केसीले बताए। उनले भने, ‘कर्फ्यु लागेको क्षेत्रमा स्वाभाविक रूपमा सेना ब्याकअपममा बस्ने प्रावधान छ। तीनकुने क्षेत्रमा मानवीय हिसाबले पनि जानुपर्ने अवस्था भयो।’

 तीनकुने क्षेत्र अशान्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शान्तिनगर गेटदेखि मनोहरा पुलसम्म कर्फ्यु लगाइएको जानकारी दिए। उनले हिमालप्रेससँग भने, ‘राति १० बजेसम्म सो क्षेत्रमा कर्फ्यु आदेश गरिएको छ।’ भण्डारीका अनुसार निजी घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा ढुंगामुढा तथा आगजनी बढ्दै गएपछि कर्फ्यु लगाइएको हो।

गौशालादेखि एयरपोर्टसम्म, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा जनाइएको छ। कर्फ्यु आदेश गरिएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउन गर्न नपाइने सूचनामा उल्लेख छ।

यसअघि प्रदर्शनकारीहरूले प्रहरीको हतियार खोसेका थिए। उनीहरूले प्रहरीमाथि पनि जाइ लागेका थिए। प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरी घाइते भएका छन्। आन्दोलनकारीले सर्वसाधारणको घरमा पनि आगजनी गरेका छन्। यसैगरी घरमा लगाइएको आगो निभाउन आएको दमकलमा पनि अवरोध गरेका छन्। साथै आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन्।

तीनकुनेस्थित बागमती पुलमा प्रहरीले बनाएको सुरक्षा घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले कैयौँ सेल अश्रुग्यास प्रहार गरेको थियो। दोहोरो झडपका क्रममा राजावादीले सभा गर्न लागेको मञ्चमा पनि क्षति पुगेको थियो। त्यसपछि प्रदर्शनकारीहरू प्रहरीमाथि आक्रमण र भौतिक सम्पत्ति तोडफोडमा उत्रिएका थिए।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेको थियो। तीनकुनेमा राजतन्त्र समर्थक भेला भएर प्रदर्शनकारीले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: १५ चैत २०८१ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast