
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। विश्वविद्यालय क्याम्पसमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट मतदान गरिने जनाइएको छ। मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ।