
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मसँग मेल खाएको बताए। उनले भने,‘संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले आफ्नो पेसालाई सेवा भावका दृष्टिकोणबाट हेर्नुपर्ने विश्वास राख्छु।’
राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नागरिकलाई स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्याउने व्यवस्था गरेको स्पष्ट पारे। उनले देशका दूरदराजका क्षेत्रहरूमा अझै पनि नागरिकहरूले उचित स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको कुरा उठाउँदै यस्तो अवस्था गम्भीरतासाथ लिएर प्रत्येक गाउँ, टोलमा दक्ष र विज्ञ चिकित्सकको सेवा पुर्याउन आवश्यक रहेको बताए।
उनले भने,‘आजको यस विशेष अवसरमा सबैलाई आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान गर्दछु।’ राष्ट्रपति पौडेलले हालको अवस्थामा नेपाली स्वास्थ्य शिक्षामा उल्लेखनीय सुधार भएको र दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुन थालेको कुरा साझा गर्दै यसलाई एक सकारात्मक पक्षको रूपमा प्रस्तुत गरे। उनले अनुभव गर्दै भने,‘नेपालमा अब स्तरीय स्वास्थ्य सेवा र उपचार उपलब्ध हुन थालेको मैले अनुभव गरेको छु।’
तथापि, स्वास्थ्य सेवामा सुधार हुँदै गर्दा पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको र यसको परिणामस्वरूप चिकित्सकहरूको विदेश जानको क्रम बढ्नु चिन्ताजनक भएको बताए। यसलाई रोक्नका लागि सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको भनाइ थियो। देशको स्वास्थ्य क्षेत्रमा थप सुधार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे।
सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’ पुरस्कारबाट डा. गौरीशशंरलाल दास, डा.मृग्रेन्द्रराज पाण्डे, डा.दिनेशनाथ डंगोल, डा.डिबि कार्की र डा.सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए।