
काठमाडौँ- २०७८ सालमा नेकपा एमालेबाट विभाजन गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए, ‘हामीलाई पार्टीमा अपमान गरियो। त्यही कारण विद्रोह गर्यौँ।’ विभाजनपछि नेपालले सार्वजनिक कार्यक्रममा प्रायः नछुटाउने वाक्य हुन्, ‘केपी ओलीले निरंकुशता लाद्छन्’, ‘ओलीमा पार्टी संस्कार देखिएन’ र ‘ओलीको शासनलाई बहिष्कार गर्दै विद्रोहको बाटो लियौँ।’
अहिले नेकपा एकीकृत समाजवादीभित्र अध्यक्ष माधवकुमार नेपाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीको चरित्र समान रहेको टिप्पणी हुन थालेको छ। विगतमा ओलीमाथि ‘व्यक्तिवादी’ आरोप लगाउने नेपालमाथि अहिले पार्टीभित्रै यस्तो आरोप लाग्न थालेको हो। पार्टीमा बोल्न नदिएको, भित्रभित्र पदबाट हटाएको र गुटगत राजनीति गरेको आरोप नेपालमाथि लागेको छ।
समाजवादीका एक नेता भन्छन्, ‘आखिर नेपाल र ओलीमा फरक के रहेछ र? व्यक्ति फरक प्रवृत्ति एउटै।’ ती नेताका अनुसार अध्यक्ष नेपालका गतिविधिले पनि त्यस्तै प्रमाणित हुन्छ। एमाले विभाजनका बेला ओलीसँग विवाद झिक्दै समानान्तर गतिविधि फैलाउँथे। अहिले नेपालकै पार्टीमा समानान्तर गतिविधि बढेका छन्। एमालेमा रहँदा नेपाल ओलीसँग विधिका कुरा गर्थे, अहिले समाजवादीका नेताहरू नेपालसँग विधिका कुरा उठाउन थालेका छन्।
माधव नेपाललसँग लामो समय सहकार्य गरेका नेताहरूका अनुसार उनी आफ्नो पद वा वरीयता अलिकति वरपर भएमा रुष्ट भइहाल्छन्। नेपालको पार्टीमा अहिले पद ‘गुपचुप’ बनाएको आरोप लागेको छ। यस्तो आरोप लगाउने सामान्य कार्यकर्ता नभएर उनकै सहयात्री झलनाथ खनाल हुन्।
खनाल समाजवादीको गत असारमा भएको १० औँ महाधिवेशनबाट निर्वाचित सम्मानित नेता हुन्। प्रकाशित पार्टी विधानमा सोही पद ‘केन्द्रीय कमिटी’ बाट मनोनीत हुने उल्लेख छ। खनालले गत फागुन ९ मा सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो पद ‘गुपचुप’ बनाएको आरोप लगाएका थिए। समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार खनालले बैठकमा भनेका थिए, ‘पार्टी विधानको धारा ४० मा सम्मानित नेता र वरिष्ठ नेता केन्द्रीय कमिटीले तोक्ने उल्लेख छ। यो के मनपरीतन्त्र हो?’
खनालले भनेका थिए, ‘धारा ५३ केन्द्रीय कमिटीका अधिकार र कर्तव्य लेखिएको छ, पार्टीका सम्मानित नेता तथा वरिष्ठ नेताहरू तोक्ने यहीँ लेखिएको छ। कसरी सम्मानित नेता हटाइयो?’ खनालले नेपाल पक्षले सुनियोजित षड्यन्त्रबाट पद खोसेको आरोप लगाएका छन्। उनले नेपालमाथि पार्टी विघटन गर्न चाहेको हो भनेर बैठकमै प्रश्न गरेका थिए। समाजवादीका नेताहरूका अनुसार पार्टीको विधान हेरफेर बेदुराम भुसालले गरेका थिए। खनालले बेदुरामको नाम लिएर पद हटाएको बताएका थिए।
समाजवादीमा महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चुनिएका थिए। अध्यक्षमा नेपाल दोहोरिँदा, सम्मानित नेतामा खनाल र महासचिवमा घनश्याम भुसालको नाम सर्वसम्मत भएको थियो। प्रकाशित विधानमा भने सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने उल्लेख छ। यही कारण खनालले सम्मानित नेता पदमाथि सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएका हुन्।
आरतीमाथि नेपालको ‘झ्वाँक’ र आक्रोश
नेपाल अहिले पनि ओलीले एमालेमा बोल्न नदिएको आरोप लगाउँछन्। ओलीले ‘हैकमवादी प्रवृत्ति’ देखाएको उनी सार्वजनिक समारोहमा बताउँछन्। यसअघिको केन्द्रीय कमिटीमा नेपालले यस्तै व्यवहार देखाएको नेताहरूको दाबी छ।
अनेरास्ववियूकी पूर्वनेत्रृ एवम् केन्द्रीय सदस्य आरती लामा बोल्दा नेपालले झ्वाँक्किएर बोल्न प्रतिबन्ध लगाए। आरतीले बैठकमा भनेकी थिइन्, ‘मलाई किन एकाएक अपानि (अन्तर पार्टी निर्देशन) बाट हटाइयो। यो अन्याय भयो। हिजो यही प्रवृत्तिविरुद्ध विद्रोह गर्यौँ। अहिले त्यही भएन र!’ नेपालले ‘तपाईं चुप लाग्नुहोस्। अपानिको कुरा यहाँ ल्याउने? भनेर थर्काएका थिए।
महासचिव भुसालले सहजीकरण गर्दै आरतीलाई बैठकबाट बाहिर निकालेका थिए। आरती यसअघि समाजवादी निकट विद्यार्थी संगठनकी अध्यक्ष थिइन्। नेपालले अपानि (अन्तर पार्टी निर्देशन) मार्फत उनलाई हटाएका थिए।
‘आरतीजी बाहिर पनि बोल्नुभएको थिएन। पार्टीमै कुरा राख्ने भन्नेमा हुनुहुन्थ्यो तर त्यो पनि पाउनुभएन’, समाजवादीका एक नेता भन्छन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष नेपाल आरतीलाई बोल्नै नदिने पक्षमा थिए। आरती बोल्दा नेपालले अप्ठ्यारो महसुस गरेका थिए। जब आरती उठिन्, त्यसपछि नेपाल मञ्चबाटै बाहिर निस्किन खोजेका थिए।
विधि र पद्धतिमाथि प्रश्न
आरतीसँगै अपानिबाट हटाइने नेता हुन्, कृष्ण विश्वकर्मा। युवा संघ नेपालका संयोजक कृष्णलाई अपानिबाट हटाउँदै पार्टीको जिम्मेवारी दिइएको थियो। कृष्णले समेत नेपाललाई पार्टीभित्रको विधिबारे प्रश््न गरेका थिए।
उनले दस्ताबेज पढ्दै ‘पार्टीमा सत्तादेखि सत्तासम्म’ राजनीति भएको, स्थानीय तथा संघ, प्रदेश चुनावी गठवन्धनबारे धारणा मागेका थिए। विश्वकर्माले भनेका थिए, ‘पार्टीका सामु तमाम चुनौती छन्। कार्यकर्ता अलमल चिर्न र नयाँ उत्साह भर्न सर्वोच्च निकायमा उत्साहका साथ सहभागी हुन्छन्। परिषद्ले निर्णय गर्छ तर कार्यान्वयन अर्कै हुन्छ। महाधिवेशनले फरक निर्णय गर्छ तर त्यसलाई गुमनाम गराइन्छ। पास भएको कार्यक्रम र विधानलाई अनुकूलतामा प्रयोग गरिन्छ। कसैलाई हराउनकै लागि दुनियाँमा नभएको प्रणालीअन्तर्गत अपूर्ण चुनाव गराइन्छ र छानी-छानी चिट बाँडेर कत्लेआम गरिन्छ।’
बैठकमा सहभागी एक नेताले कृष्णलाई उधृत गर्दै भने, ‘हाम्रो लक्षित वर्ग, किसान, मजदुर र निराश युवाका विषयमा कुनै निर्णय देखिँदैन। बोलेर क्रान्तिकारी भइँदैन, काम र व्यवहारका आधारमा जनताको बीचमा स्थापित हुँदै जाने हो। यस्ता मूलभूत विषयमा समीक्षा जरुरी छ।’ उनले पार्टीले जनसंगठनलाई हेर्ने दृष्टिकोण दुई थरी रहेको गुनासो गरेका थिए।
‘चुनावका बेला भेला बोलाइन्छ, आग्रहपूर्ण एकतर्फी बहकावमा रोकिन्छ। गतिविधि गर्न दिइँदैन। बैठक, भेला र क्रियाकलापमाथि अंकुश लगाइन्छ तर महाधिवेशनको सम्मुखमा आफैँले आफँैलाई नेता घोषणा गर्ने समानान्तर काम रोकिँदैन उल्टै पुरस्कृत गरिन्छ। कसरी आन्दोलनको विकास सम्भव हुन्छ?’ उनले भनेका थिए।
पार्टीको आकारभन्दा समस्या धेरै
समाजवादी प्रतिनिधिसभामा १० सिट मात्र जितेको पार्टी हो। पार्टी सानो भएपछि पीडा अनगिन्ती छन्। समाजवादीमा एमसीसी (मिलियम च्यालेन्ज कर्पोरेसन)लाई हेर्ने दृष्टिमा विवाद छ भने पार्टीको नेतृत्व संख्यामाथि प्रश्न उठेको छ। जनसंगठनका नेतालाई हटाएको आरोप छ भने विधिसम्मत तरिकाले नचलेको पीडा छ।
यतिमात्र होइन, समाजवादीमा विगतमा कांग्रेसलाई दिएको समर्थनको विरोध छ भने पहिचानलाई हेर्ने दृष्टिमा असन्तुष्टि छ। समाजवादीकै एक नेता भन्छन्, ‘पार्टीभित्र अनेक तिक्तता छन्, मुख्य नेतृत्वबीच खाडल बढेको छ।’
पार्टीमा प्रत्यक्ष रूपमा नचुनिएको पीडा एकातिर छ भने नेतृत्वले ‘चिट’ बाँडेर हराएको पीडा अर्कातिर छ। पार्टी नेताहरूकै भनाइमा गतिविधि सुस्त छ। आक्रोशका स्वर बढेका बढ्यै छन्। यही कारण नेताहरू एक ठाउँमा बस्न सक्ने अवस्था छैन।
नेताहरूका अनुसार गत असारमा भएको महाधिवेशनपछि झनै तिक्तता बढेको छ। कसैलाई चुनिन नपाएकोमा त कसैलाई उपयुक्त पद नपाएकोमा तनाव भएको छ। ‘महाधिवेशनमा चुनाव गर्नुपथ्र्यो। जुन हुन सकेन। हामीले निरन्तर चुनावका पक्षमा लाग्दा समेत नेतृत्व टेरेन,’ समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले हिमालप्रेससँग भने, ‘असारमा प्रतिनिधि बोलाइएको छ। अनि सर्वसम्मति भन्दै घर पठाइएको छ। केका लागि हो प्रतिनिधि?’
श्रेष्ठका अनुसार महाधिवेशनमा अधिकांश नेताहरू निर्वाचनका पक्षमा थिए। एकाएक मुख्य नेताहरूले सर्वसम्मतिका नाममा प्रतिनिधि घर पठाए। ‘म त केन्द्रीय सदस्य चुनिन पनि पाइनँ। समिति पनि पहिले ९३ को बनाइयो। पछि बढाएर ३ सय बढी पुर्याइयो। त्यो केका लागि थियो?’ श्रेष्ठ प्रश्न गर्छन्, ‘समाजवादीको मुख्य ठाउँ मधेश हो। पार्टीले एकजनाबाहेक कसैलाई केन्द्रीय सदस्य दिएन। कसरी चल्छ पार्टी?’
यति मात्र होइन, पार्टीभित्र गुटको राजनीति बढेको चिन्ता झनै बढेको छ। विगतमा दुई गुट रहेको समाजवादीमा अहिले तीनवटा छन्। अध्यक्ष नेपाल, सम्मानित खनाल र महासचिव भुसालले गुटकै नेतृत्व गरिरहेका छन्। समाजवादीका एक नेताका अनुसार कहिले कुन गुटमा जाने र कहिले कसको नजिक बन्ने प्रतिस्पर्धा छ।
महाधिवेशनमा कसैको नजिक देखिएकै भरमा पद गुमाएका उदाहरण पार्टीमा बग्रेल्ती छन्। आरती र कृष्ण पनि गुटकै सिकार भएको नेताहरूको दाबी छ। महाधिवेशनमा भुसाल अध्यक्षको प्रत्यासी हुँदा उनीहरू उतैतिर खुलेका थिए। अहिले उनीहरू त्यही कारण जनसंगठनबाट बाहिरिनुपरेको श्रेष्ठ बताउँछन्। ‘कसैको नजिक भएकै आधारमा जिम्मेवारीबाट हट्नुपर्ने हुन सक्छ?’ श्रेष्ठको प्रश्न छ, ‘यो त मान्न सकिँदैन नि।’
समाजवादीमा अर्को विवादको विषय हो, पार्टी एकता। नेपाल यसअघिसम्म माओवादीसँग एकता गर्ने पक्षमा थिए। भुसाल-खनाल भने एकता गर्नै नहुने पक्षमा उभिए।
‘हामी पार्टी बनाउने कार्यक्रम र छलफलमा छौँ। एकता गर्ने मनस्थितमा छैनौँ,’ भुसाल निकट नेता दामोदर अर्यालले भने, ‘बरु हामी यतिखेर जनताका मुद्दालाई सूत्रबद्ध गरेर आन्दोलन गर्ने मनस्थितिमा छौँ।’
नेपालपक्षले भने पार्टीको निर्देशनबिना बोलेको आरोप लगाएको थियो। नेपाल निकट ताज मोहम्मद मियाँले माओवादीसँग एकता हुन सक्ने बताएका थिए। यही विषयले थप विवाद निम्तिने संकेत बुझेका अध्यक्ष नेपालले बैठकमा तत्काल एकता नहुने अभिव्यक्ति दिएका थिए।
सांसद छैनन् पार्टीको सम्पर्कमा
समाजवादीमा केही केन्द्रीय नेताहरू अध्यक्ष नेपालसँग सम्पर्कमा छैनन्। ती हुन्, प्रेम आले, कृष्ण श्रेष्ठलगायत। आले त महाधिवेशनमा समेत सहभागी भएनन्। असारमा महाधिवेशन हुँदा उनी भारतमा थिए। उनी अब समाजवादीमा फर्किने सम्भावना न्यून छ। ‘आले अब पार्टीमा छैनन् भन्दा पनि हुन्छ। कसैको सम्पर्क उनीसँग छैन’, समाजवादीका एक नेता भन्छन्, ‘अन्य नेतासमेत पार्टी नेताहरूको कामले गर्दा आजित भएका छन्। पार्टी छाड्ने लहर बढ्दो छ।’
श्रेष्ठ पनि सम्पर्कमा नरहेको स्वीर्काछन्। ‘कहिलेकाहीँ अध्यक्ष(नेपाल)ले बोलाउनुहुन्छ। निचोड ननिस्कने बैठकमा किन जाने भन्ने लागेर गइँदैन’, श्रेष्ठ भन्छन्। नेपालसँग अहिले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा, अम्बरबहादुर थापा पनि असन्तुष्ट छन्।
‘असन्तुष्ट पक्षसँग ५ देखि ७ सांसद छन् तर सबैले पद छाड्छन् भन्न मिल्दैन,’ समाजवादीका एक नेता भन्छन्, ‘यो शृंखला केन्द्रमा मात्र होइन, प्रदेश र अझ बढी स्थानीय तहमा देखिएको छ।’
समानान्तरको शृंखलाबद्ध प्रहार
पार्टी नेतृत्वबीचको तिक्तताले अहिले समानान्तर गतिविधि बढ्दो छ। झलनाथ खनाल निकट विद्यार्थीले समानान्तर गतिविधि बढाएका छन्। संस्थापन माधव नेपाल पक्षले एकल निर्णय गर्दै महेश श्रेष्ठलाई अध्यक्ष बनाएपछि खनालपक्ष समानान्तर गतिविधिमा लागेको हो।
यसअघि खनाल पक्ष समानान्तर कमिटी बनाउन लागेको थियो तर खनाल आफैँ लागेर तत्काल समानान्तर बनाउन रोकेका थिए। पछिल्लो समय भने खनाल पक्षधर नेताहरू समानान्तर कमिटी गर्ने गरी लागेका छन्।
समाजवादीमा समानान्तर बन्ने प्रक्रिया नयाँ भने होइन। यसअघि संगठनको इन्चार्जमा रामकुमारी झाँक्री र सहइन्चार्जमा राम राई चुनिएपछि मनोमानी बढेको विद्यार्थी नेताहरूको बुझाइ छ। झाँक्री र राईमाथि पनि खनाल पक्षधरलाई कमजोर बनाउन लागेको आरोप छ। झाँक्रीले अखिलको अध्यक्षमा श्रेष्ठलाई तान्दा खाली रहेको महासचिव पदमा पनि आफू निकट राजन शर्मा पराजुलीलाई चयन गरेकी थिइन्।
अध्यक्ष र महासचिव एउटै गुटको रहेको भनेर खनाल पक्षधर असन्तुष्ट बनेको थियो। नेपालले भने अर्को समूहको कुरा सुन्नै नचाहेको आरोप छ। एकातिर नेपालले आफूनिकट नेतालाई मात्र चयन गरेको र अर्कोतिर मनोमानी तरिकाले अपानिबाट हटाएको आरोप लगाएका छन्। बैठकमा हटाएको कारण सोध्दा पनि बोल्न नदिएको गुनासो बाहिर आइरहेका छन्।
जनवर्गीय संगठन युवा संघ नेपालमा समानान्तर गतिविधि अघि बढेको थियो। पार्टी अध्यक्ष नेपालपक्षधर मानिने नेताहरू समानान्तर गतिविधि अघि बढाएका थिए। खनाल पक्षधर कृष्ण विकविरुद्ध नेपालका भान्जा नितेश पौडेलले समानान्तर कमिटी बनाएका थिए। पार्टी महाधिवेशनपछि घटना साम्य भएको थियो। समाजवादी नेताहरूका अनुसार महाधिवेशनमा अध्यक्षमा सर्वसम्मत बन्न खनालले सहयोग गरेका थिए।
भुसाल चुनाव जाने अडान कायम राख्दा नेपाल-खनाल ‘मिलिभगत’ भएको ती नेताको भनाइ छ। कृष्ण भने खनाल गुट छाडेर महाधिवेशनमा भुसाल पक्षमा खुलेका थिए। लामो समय युवा संघको बैठक नराखेको, संगठन चलाउन नसकेको आरोप विकमाथि लगाउँदै नेपालले पदबाट हटाए। विकले पनि आफूलाई जनवर्गीय संगठनबाट हटाउनुको कारण गत पार्टी बैठकमा राखेका थिए। तर उनले चित्तबुझ्दो जबाफ पाएनन्।
जनवर्गीय संगठन समाजवादीमा कमजोर बनेको नेताहरूको दाबी छ। सबैभन्दा सक्रिय संगठन युवा र विद्यार्थीमै पार्टीले खेल्दा झनै कमजोर बनेको उनीहरू बताउँछन्।
जनवर्गीय संगठनमै पर्ने समाजवादी प्रेस संगठनको केन्द्रीय नेतृत्व एमालेमा विलय भएको थियो। संगठनबाट निर्वाचित अध्यक्ष विश्वमणि सुवेदी र महासचिव रामकुमार एलनसहितको टोली पार्टी नेतृत्वको गलत हर्कत भन्दै बाहिरिएका थिए। पार्टीमा सामान्य तिक्ता देखिए पनि भेटिँदै जाने संस्थापन पक्षधर नेताहरू बताउँछन्।
पहिचानको मुद्दा नबोके पार्टी छाड्छु : राजेन्द्र राई
समाजवादीमा नेपालका निकटस्थ नेता मानिन्छन्, भोजपुरका राजेन्द्र राई। कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले महाधिवेशनमा नेपालकै प्यानलबाट उपाध्यक्ष जितेका थिए। राई पछिल्लो समय पार्टी बैठकमा जान छाडेको नेताहरूको बुझाइ छ। एमालेबाट विभाजित भएर समाजवादी बन्दा सचिव रहेका राजेन्द्र महाधिवेशनबाट उपाध्यक्षमा उक्लिएका थिए। उनले महाधिवेशनमै पनि पहिचान र जनताको बहुदलीय जनवाद (जबज) को माग गर्दै दस्तावेज प्रस्तुत गरेका थिए। पार्टीले पहिचानको मुद्दा नबोकेको खण्डमा समाजवादीमा नरहने उनको भनाइ छ।
‘मैले पहिल्यै भनेको छु। पार्टी पहिचानका पक्षमा उभिँदैन भने म समाजवादीमा रहन्नँ,’ राजेन्द्रले हिमालप्रेससँग भने, ‘अहिले पार्टीको आधिकारिक धारणा के हो प्रस्ट छैन। पहिचानलाई पार्टीले मान्दैन भने म समाजवादीमा रहन्नँ।’ राजेन्द्र एमाले विभाजनताका नेपाल पक्षमा खुलेर तत्कालीन १ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका थिए।
त्यसबेला सोही प्रदेशमा नामकरणमा विवाद थियो। राजेन्द्रले पहिचानविरुद्ध नामकरण नगर्ने बताए। पहिचान र गैरपहिचानको लडाइँकै कारण कोशीमा प्रदेशसभाको दोस्रो चुनावपछि मात्र नामकरण गर्ने वातावरण बन्यो। हालसम्म पनि कोशी नामविरुद्ध पहिचान पक्षधरहरू आन्दोलित छन्।
नेताहरू गुमनाम
पुराना नेताको घेरामा बस्ने र तिनैको मात्र सरसल्लाह लिने गरेको आरोप नेपालमाथि लागेको छ। हुन त, कतिपय नेता कार्यकर्ताविहीन बन्दासमेत पदको लाभ लिइरहेको नेताहरू सुनाउँछन्। ‘हाम्रो पार्टी यतिसम्मका वरिष्ठ नेताहरू छन्, आमचुनावमा मत समेत हाल्न गएनन्,’ समाजवादीका एक असन्तुष्ट नेता भन्छन्, ‘त्यस्तालाई नेता मानेर अघि बढ्नुपरेको छ।’ जुन वरिष्ठ नेताहरूमध्ये केही नेता हालसम्म कुनै चुनाव नजितेको नेताहरू सुनाउँछन्। ‘यस्तै प्रवृत्तिले हाम्रो पार्टीमा सक्रिय नेताहरू गुमनाम पर्दैछन्,’ नेता किसान श्रेष्ठ भन्छन्।
महाधिवेशनले विभाजन ल्यायो, कार्य विभाजनले तिक्तता
समाजवादीमा १० औँ महाधिवेशनपछि तिक्तता बढेको नेताहरू सुनाउँछन्। उपयुक्त पद नपाएको, चुनाव लड्न उल्झन थपेको जस्ता कारण देखाउँदै नेताहरू असन्तुष्ट छन्। यसैकारण कार्यविभाजन गर्नसमेत पाँच महिना लागेको थियो।
गत असारमा भएको महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै बाँकी सदस्य छनोट गर्ने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिइएको थियो । २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने विधान महाधिवेशनले पारित गरे पनि भागबन्डा मिलाउन नेतृत्वले ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो। अहिले यही विषयमा समाजवादीमा विवाद छ।
महाधिवेशनमा चुनाव लड्न नपाएको समाजवादीकी नेत्रृ रामकुमारी झाँक्रीलगायतले असन्तुष्टि जनाएका थिए। उनीहरूले ओली र नेपालबीच तुलना गर्दै नेपालले ‘हार्ने छुट पनि नदिएको’ आरोप लगाएका थिए।
ओलीले एमालेको महाधिवेशनमा आफूविरुद्ध लड्नेलाई नरोकेको र नेपालले भने आफू सर्वसम्मत भएपछि महाधिवेशन रोकेको जनाएका थिए। यसले बढाएको तिक्ताका कारण असोजमा पदाधिकारी र पोलिटब्युरो चुनाव गर्न नेपाल बाध्य भएका थिए। तर चुनावपछि भने नेपालले कार्य विभाजनमा ढिलाइ गरेका थिए। कार्य विभाजनमा भने महासचिव घनश्याम भुसाललाई समेत चाहेको विभागीय जिम्मेवारी नदिएको नेताहरूको भनाइ छ।
भुसालले संगठन विभाग मागेको तर अनुगमन तथा मूल्यांकन विभागको प्रमुख दिएका थिए। संगठन विभाग भने आफू निकट बेदुराम भुसाललाई नेपालले दिएका थिए। आर्थिक विभाग पनि नातेदारसमेत पर्ने सोमप्रसाद पाण्डेयलाई नेपालले दिएका थिए। यता समाजवादीका महासचिव घनश्याम भुसाल पार्टी एकभएर अघि बढ्ने दाबी गर्छन्। पार्टी आन्दोलनतर्फ अघि बढेको भुसालको दाबी छ।