
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
कारबाहीमा परेकामा सशस्त्र प्रहरी नायब निरीक्षक चारजना, सहायक निरीक्षक पाँचजना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार तीनजना, सहायक हवल्दार नौजना, जवान ९१ र परिचर दुई जना छन्।
नसिहत दिइएकामा सशस्त्र प्रहरी नायब निरीक्षक तीन, सशस्त्र प्रहरी सहायक निरीक्षक २, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पाँच, सशस्त्र प्रहरी सहायक हवल्दार ६, सशस्त्र प्रहरी जवान ८१ र सशस्त्र प्रहरी परिचर दुई गरी १०२ जना छन्। यसैगरी एकजना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारको बढुवा रोकिएको छ। एक जना सशस्त्र प्रहरी नायब निरीक्षक, एकजना सशस्त्र प्रहरी सहायक हवल्दार र दुईजना सशस्त्र प्रहरी जवान गरी चारजनालाई आइन्दा यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक दुईजना, सशस्त्र प्रहरी सहायक हवल्दार दुईजना र सशस्त्र प्रहरीजवान एकजनालाई मौखिक रूपमा सम्झाई बुझाई गरिएको छ। यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक एकजना र सशस्त्र प्रहरी जवान चार जना गरी पाँचजनालाई सचेत गराइएको छ। सशस्त्र प्रहरी जवान तीनजनालाई ध्यानाकर्षण गरिएको छ।
नसिहत पाएका सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधिभर वृत्ति विकासमा असर पर्छ भने अन्य कारबाहीमा परेका कर्मचारीको पनि बढुवालगायतका वृत्ति विकासमा असर पर्ने सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले संगठनका बारेमा प्रकाशित भएका समाचारमा नकारात्मक टीकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत कारबाही गर्दै आएको छ। संगठनको नियमविपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशन दिएको छ। फागुन ४ गते मातहत कार्यालयमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकामा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हबल्दार १ जना र जवान २१ जना रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए।