कांग्रेस–एमाले संविधान उल्ट्याउनतर्फ केन्द्रित छ : प्रचण्ड

हिमाल प्रेस २ फागुन २०८१ १६:३१ | Friday, February 14, 2025
कांग्रेस–एमाले संविधान उल्ट्याउनतर्फ केन्द्रित छ : प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र एमाले संविधान उल्ट्याउनतर्फ केन्द्रित भएको बताएका छन्।

३० औँ जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले कांग्रेस–एमाले नेतृत्व संविधान संशोधनतर्फ नभई उल्ट्याउनतर्फ केन्द्रित भएको दाबी गरे।

‘उनीहरूले महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारूलगायत उत्पीडित वर्गले बढी अधिकार पाएको ठानेका छन्। त्यसैले उनीहरू संविधान संशोधन होइन, संविधान उल्ट्याउन चाहेका छन्,’ प्रचण्डले भने।

संविधान संशोधन गर्ने भनेर आफूलाई सरकारको नेतृत्वबाट हटाए पनि अहिले आएर प्रधानमन्त्रीले २०८७ मा मात्र संविधान संशोधन हुने बताउन थालेको उनले जिकिर गरे।

दुईदुईपटक संविधान मिचेर संसद विघटन गरेको स्मरण गर्दै प्रचण्डले अहिले पनि यो प्रवृत्ति र प्रयास जारी रहेको उल्लेख गरे। उनले अहिलेका सत्ता साझेदार दलहरू संविधान संशोधनप्रति इमानदार नभएको आरोप लगाए।

विगतमा संविधान जारी गर्नैपर्ने बाध्यताका कारण आफ्ना मुद्दालाई फरक मतको रूपमा राखेर सम्झौता गरेको उल्लेख गर्दै प्रचण्डले अब प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अगाडि बढाउने बताए।

प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थाबाट मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने उनको भनाइ थियो।

प्रकाशित: २ फागुन २०८१ १६:३१ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast