पोखरामा फोहोर उठाउन दिन ‘१५ दिने अल्टिमेटम’

विजय नेपाल १ फागुन २०८१ ८:१२
8
SHARES
पोखरामा फोहोर उठाउन दिन ‘१५ दिने अल्टिमेटम’

पोखरा- पोखरामा थुप्रिएको फोहोर उठाउने सहमति भएको छ। एक सातादेखि दुईपक्षीयबीच विवादका कारण नउठेको फोहोर अब उठाउने सहमति भएको हो। फोहोराका विषयमा पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ सहमति भएको हो।

सहमतिबमोजिम यसअघिको १४ बुँदे सहमति कार्यान्वयनका लागि १५ दिनको समय दिइएको छ। पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे फेरि अवस्था उही हुने बताउँछन्।

यदि सहमति कार्यान्वयनमा गए अबको १ वर्षसम्म समय थप हुन सक्ने सरोकारवालाबीच छलफलमा सहमति जुटेको उनको भनाइ छ। दुईसातासम्म स्थानीयले फोहोर व्यवस्थापनका लागि समय दिएसँगै पोखराको चोकचोकमा ६ दिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठाइने भएको छ।

बुधबारको छलफलमा पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख बिमल रञ्जन कार्की, महानगर प्रवक्ता एवं वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग, सरोकारवाला टोलका अध्यक्षहरु सहभागी थिए।

पोखरा-३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका हुन्। महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका थिए।

२ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएसँगै पोखरा-१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरूपमा पोखरा-३२, लामेआहाल सारिएको थियो।

सुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो। उक्त म्यादसमेत २३ माघदेखि सकिएको छ ।

प्रकाशित: १ फागुन २०८१ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast