काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (नेकपा एमाले) र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन (नेकपा एस) ले चुनावी तालमेल गर्ने भएका छन्।
मञ्चकातर्फबाट अध्यक्ष पदमा पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष जनक रावललाई उम्मेदवार छन्। संगठनले द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य प्यानलमा उम्मेदवार पाउने गरी सहमति भएको डिकबहादुर खत्रीले जानकारी दिए।
प्रथम उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूका लागि छलफल चलिरहेको उनले बताए। ‘बृहत्तररूपमा व्यवसायी एकता र वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा रहेका समस्या समाधानका लागि ठोस काम गर्न सक्ने टिम बन्दै छ। यसकै आधारमा हामी संघको निर्वाचनमा जान्छौं,’ उनले भने।
संघको जित–हारको परम्परागत शैलीभन्दा एजेन्डा केन्द्रित गराउन सबै पक्षसँग छलफल खत्रीले बताए।
संगठनले पनि आफ्नो उम्मेदवारी उठाउने विषयमा छलफल गरेको छ। त्यसपछि मञ्चले अन्य उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए। संघको साधारणसभा फागुन २ गते काठमाडौँमा हुँदैछ। संघमा ७ सयभन्दा बढी व्यवसायी आवद्ध छन्। संघमा नौवटा म्यानपावर व्यवसायीका संगठन छन्।
केन्द्रीय राजनीतिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी (एस) बीच पानी बाराबार जस्तै छ। तर संघको निर्वाचनमा भने दुवै पार्टीबीच सहकार्य भएको छ।