 
                             
                                            पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलले देशको आर्थिक उन्नतीमा टेवा पुर्याउने भन्दै निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण पनि छिट्टै सुरु गरिने बताएका छन्। उनले भूपरिबेष्ठित देशहरूमा विकासको थुप्रै माध्यम भए वपनि हवाई मार्ग सबैभन्दा उत्तम भएको पनि बताए।
‘भौतिक पूर्वाधार र जोडने संरचनाहरू नै हो। हाम्रो जस्तो भुपपरिवेष्ठित देशमा त्यो कनेक्भिटीमा थुप्रै माध्यामहरु छन्। बाटोघाटो, रेलवे लाइन, ती सबै मध्ये पनि हाम्रो लागि अझ बढी आवश्यक र प्रभावकारी भनेको हवाई सेवा नै हो,’ उनले भने। प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको पनि बताए। उनले आफ्नो जन्म जिल्ला कास्कीको विकासको बारे आफूले सधैँ पहलकदमी चालिरहेको पनि दाबी गरे।
प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरू भएको भन्दै प्रशंसा पनि गरे। ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ। यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ’ उनले भने। सीमा नाका खुलाएर ठूला परियोजनामा सहकार्यका लागि चीन सरकारसँग आग्रह गर्ने प्रचण्डको भनाइ छ। उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिंगो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे।
‘म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने,मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवर्द्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु।’
प्रचण्डले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै अब सामाजिक न्याय र सुशासनमा ध्यान दिने आफ्नो उद्देश्य रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 