वामपन्थी शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

हिमाल प्रेस ३ माघ २०८१ १९:१७ | Thursday, January 16, 2025
वामपन्थी शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरुको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण मुलुक अग्रगमनतर्फ उन्मुख हुन नसकेको बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको बिहीबार उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको धारणा राखे।

राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नसके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो।

कम्युनिष्टका नाममा राजनीति गर्नेले कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए। उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत बिचार समूहसँग सहकार्य गर्न सकिने उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले  देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे।

पार्टी उपाध्यक्ष गंगालाल तुलाधरले पार्टीले राष्ट्रिय राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। पार्टी सचिव एवं प्रदेश ईन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: ३ माघ २०८१ १९:१७ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast