झापा पुगेका दाहालले ओलीलाई भने : गिरिबन्धु, ओम्नी र वाइडबडीको फाइल खोलिन्छ

हिमाल प्रेस १५ पुष २०८१ १६:१४
32
SHARES
झापा पुगेका दाहालले ओलीलाई भने : गिरिबन्धु, ओम्नी र वाइडबडीको फाइल खोलिन्छ

काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि-स्टेटलगायतका घोटालाको फाइल खोलेरै छाड्ने बताएका छन्। आज सोमबार झापा पुगेका दाहालले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने बताएका हुन्।
झापा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला हो। दाहालले गिरिबन्धुलगायतका फाइल खोलेरै छोडिन्छ भनेर पनि ओलीलाई नै लक्षित गरेर भनेकाह हुन्।

‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ। गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु,’ दाहालले भने, ‘ मेरो सुई गिरिबन्धुतिर जाँदै थियो। त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो। त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ। फाइल खोलेरै छाडिन्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए। त्यस्तै दाहालले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो पार्टीलाई अनावश्यक जोडेर झुटो प्रचार गरेको दाबी गरेका छन्।

प्रचण्डको सचिवालयमा रहेका विकेश श्रेष्ठले उक्त दरबारको जग्गा आफ्नो नाममा लिएको भन्दै त्यसमा माओवादीकै संलग्नता भएको दाबीसहितको समाचार कतिपय संचार माध्यमले सार्वजनिक गरेका थिए। उनले सोमबार झापामा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्ने क्रममा त्यसबारे टिप्पणी गरेका हुन्।

‘अनौंठो खालको प्रचार हिजो–अस्तिबाट तपाईंले सुन्नु भएको पनि होला,’ उनले भने, ‘हाम्रो पार्टीबाट झण्डै १२, १५ वर्ष अगाडि पार्टी छोडिसकेको मान्छेको जग्गाको बिषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर सेरा दरबारको कुरा ल्याइएको छ।’

दाहालले सरकारको जग्गा भए त्यसलाई तुरुन्त सरकारका नाममा ल्याउन आग्रह गर्दै अन्यथा झुटो प्रचार नगर्न समेत चेतावनी दिए। ‘म चुनौतीका साथ भन्न चाहान्छु ओली सरकारलाई– शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारका नाममा ल्याउ’, उनले भने, ‘मेरो पुरै साथ हुनेछ तिमीहरुलाई। तर, झुटो प्रचार गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहान्छु।’

प्रकाशित: १५ पुष २०८१ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast