एकता अधुरै, नेकपाले कसरी गर्ला महाधिवेशन?

किरण पौडेल २५ वैशाख २०८३ १३:३४ | Friday, May 8, 2026
18
SHARES
एकता अधुरै, नेकपाले कसरी गर्ला महाधिवेशन?

काठमाडौँ–  फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावअघि २२ भन्दा बढी दल गाभेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरे पनि पार्टीको संगठनात्मक संरचना अझै अस्तव्यस्त छ।

२४९९ केन्द्रीय सदस्य बनाइएको पार्टीसँग आफ्नै सदस्यहरूको अद्यावधिक विवरण छैन भने भ्रातृ संगठनदेखि प्रदेश-जिल्ला तहसम्म नेतृत्व, वरीयता र जिम्मेवारीको किचलो चुलिँदा महाधिवेशनअघि नै नेकपाभित्र गम्भीर अस्तित्व संकट देखिएको छ।

नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। नेकपाले असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने र कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको छ।

चुनावअघि २२ भन्दा बढी दल मिलेर बनेको नेकपाको संगठन लथालिंग छ। चुनावअघि नै २४९९ लाई केन्द्रीय सदस्य बनाए पनि ती सबैको तथ्यांक नेकपासँग छैन। एकपटक शपथ खाएपछि तितरबितर बनेका केन्द्रीय सदस्यहरू कतिजना पार्टीमा छन् निश्चित छैन। नेकपा नेताहरूका अनुसार पार्टीले समेत केन्द्रीय सदस्यहरूको नाम समेट्न सकेको छैन।

पार्टीका भ्रातृ/जनवर्गीय संगठनको एकता भएको छैन। ‘एकता भएका दलहरूबाट कति सदस्य आए भन्ने टुंगो छैन। यही अवस्थामा एकता कसरी होला?’ नेकपाका एक नेता भन्छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका घटक एक भएका थिए। उनीहरूसहित केही समूहसमेत मिलेर नेकपा बनेको हो।

निष्पक्षतामा प्रश्न, जिम्मेवारीमा किचलो

नेकपामा वरीयता र जिम्मेवारीमा किचलो छ। वरिष्ठ नेता भीम रावलले आफूले चाहेको वरीयता नपाएकोमा चित्त दुखाएका छन्। नेताहरूका अनुसार रावलले छैटौँ वरीयता मागेका थिए तर सातौँ पाए। रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि बहिष्कार गरेका छन्।

छैटौँ वरीयता पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठले नछाड्ने अडान लिएका थिए। नेकपामा जिम्मेवारीलाई लिएर वामदेव गौतमले पनि प्रश्न उठाएका थिए। वामदेवले संगठन विभाग मागे पनि उत्पादन तथा रोजगारी विभाग पाएका छन्। संगठन विभाग वर्षमान पुनले पाएका छन्।

नेताहरूका अनुसार झलनाथ खनालले विदेश विभाग मागेका थिए। विभागको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ। प्रदेश र जिल्लाको तहमा पनि जिम्मेवारीमा किचलो छ। आफूले मागेको पद नपाएपछि नेताहरू असन्तुष्ट छन्। शीर्ष नेताहरू आफू र आफू निकटस्थलाई मात्र पद भागबन्डा गरेको नेताहरूको बुझाइ छ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आफू निकटलाई मात्र जिम्मेवारी सुम्पिँदा निष्पक्षतामा प्रश्न उठेको नेताहरू सुनाउँछन्। यसअघि प्रतिनिधिसभाको टिकट वितरण र समानुपातिक सांसद छान्दासमेत प्रचण्ड-माधवले आफूखुसी गरेको गुनासो नेताहरूको थियो।

पार्टी एकता नभए पनि भ्रातृ संगठनहरू छुट्टाछुट्टै छन्। नेताहरूका अनुसार एकतापछि कसले स्वामित्व लिने भन्ने विवाद छ। ‘विद्यार्थी संगठनहरूमा माओवादीबाट आएकालाई वा समाजवादीबाट आएकालाई नेतृत्व दिने भन्ने विवाद छ’, एक नेता भन्छन्, ‘अरू संगठनमा पनि यस्ता समस्या छन्। अहिलेसम्म नेतृत्वको ध्यान गएको छैन।’

नेकपाका नेतृत्व तहका नेताले पार्टी एकतामा पहल नगरेको नेताहरू सुनाउँछन्। चुनावपछि पार्टी एकतामा चासो नदिँदा नेताकार्यकर्ता पलायन भएको एक नेता सुनाउँछन्। ती नेताले भने, ‘चुनावअघि जति पार्टीप्रति माहोल थियो, चुनावपछि हरायो। यसले पनि पार्टी संरचना भताभुंग छ।’ ती नेताका अनुसार २४९९ सदस्य केन्द्रीय सदस्यमध्ये पनि धेरैजसो अन्य पार्टीतिर गइसके। प्रदेश र जिल्ला संरचना पनि बनेको छैन। ती संरचनाको नवीकरणसमेत हुन सकेको छैन।

नेतृत्व छाड्न निरन्तर दबाब

नेकपामा नेतृत्वबाट पुराना नेताहरूले छाड्नुपर्ने दबाब छ। ४५ सदस्य संयोजन समितिमा रन्जिता श्रेष्ठबाहेक सबै ५० माथिका छन्। नेतृत्वमा ४० वर्षमुनिका युवा आउनुपर्ने माग बढेको छ।

नेकपा नेता रन्जित तामाङ पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणको समय आएको बताउँछन्। उनीसहितका नेताहरूले पार्टीमा युवाको वर्चस्व कायम गर्दै समयबद्ध बन्न अनुरोध गरेका छन्।

नकेपाका युवा नेताहरूले नेतृत्व हस्तान्तरणका लागि दबाबमूलक अभियान अघि सारेका छन्। नेकपा केन्द्रीय सदस्य डीपी ढकाल, रामदीप आचार्य, फुर्वा तामाङसहितका नेताहरूले अहिले अभियान चलाएका हुन्। ‘अब नेतृत्व नयाँ तरिकाले आउनुपर्छ। यथास्थितिमा नेतृत्व फेरेर अघि बढ्नु नेकपा बच्नु हो,’ अभियानका एक अगुवा भन्छन्, ‘नेतृत्वमा नयाँ पन नल्याउने हो भने पार्टी अझै सकिन्छ।’
नेकपाले गत आमनिर्वाचनमा अपेक्षाकृत मत नल्याएपछि युवापंक्ति असन्तुष्ट छ। पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावमा गएको नेकपाले १७ सिट जितेको छ।

कसरी व्यवस्थित बन्छन् संरचना?

नेकपाका प्रवक्ता प्रकाश ज्वाला पार्टीका संरचना समायोजनविहीन रहेको स्वीकार्छन्। जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजन सम्पन्न गर्ने योजना रहेको उनले सुनाए।
‘एकता नभएका संरचना सबै जेठसम्ममा समायोजन गर्छौँ’, ज्वाला भन्छन्।

प्रवक्ता ज्वाला जेठ मसान्तभित्रमा संरचना समायोजन गरी छाड्ने बताउँछन्। नेकपाले १५ भदौसम्म वडा अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तसम्म पालिका अधिवेशन सक्ने उल्लेख छ। असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन सकेपछि राष्ट्रिय महाधिवेशन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast