पोखरा- पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ। पहिलो दिनको बयानका क्रममा उनले कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष इन्कारी बयान दिएका छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेत ५ जना प्रतिवादीहरुको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको थियो।
चार दिनपछि बल्ल सुरु भएको आफ्नो बयानका क्रममा लामिछानेले पहिले झैं इन्कारी बयान दिएका हुन्। कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफू सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गरेकामा बिहीबार अदालतसमक्ष पनि उस्तै प्रकृतिको बयान दिएको उनका वकिलले बताएका छन्।
बिहीबार साँझसम्म उनको बयान नसकिएपछि शुक्रबार पनि उनीबाटै प्रारम्भ हुने अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए। उनले भने, ‘उहाँ (लामिछाने) को बयान आज बल्ल प्रारम्भ भयो। भोलि (शुक्रबार) दिनभरमा सकिन्छ कि भन्ने छ।’ उनका अनुसार लामिछानेपछि अर्का प्रतिवादीहरू रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइनेछ।
हालसम्म गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका-४ की लीला पछाईंको मात्र बयान सकिएको छ। प्रतिवादीहरूको बयान पछि बल्ल थुनछेक बहस हुनेछ। बयानको समय हेर्दा र थुनछेक बहस समेत बाँकी न्यायाधीशको आदेश आउन आगामी सातासम्म कुर्नुपर्ने हुन्छ। न्यायाधीश राईले नै प्रतिवादीहरूलाई थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिनेछन्।
यसैबीच सूर्यदर्शन सहकारी ठगीका फरार प्रतिवादीहरुमध्ये अन्य दुई जनालाई पनि बिहीबार अदालत उपस्थित गराइएको थियो। गण्डकी प्रदेशका पूर्व सांसद मीना गुरुङ र आरती गुरुङलाई दुई दिनअघि कास्की प्रहरीले पक्राउ गरेको थियो।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ। गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो। आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन्। अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका प्रतिवादीहरूको बयान लिन थालिएको हो।