वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला

हिमाल प्रेस १४ पुष २०७९ २१:४२ | Thursday, December 29, 2022
वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला रुसी हमलाले ध्वस्त युक्रेनको एक सहर। फाइल तस्बिर

मस्को– रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ। युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो। कठ्यांग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो।

युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन्। रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन।

आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ।

आक्रमणको यो शृंखला विगत एक महिनादेखि जारी छ। रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न संघर्ष गरिरहेका बेला मस्कोले हवाई हमलालाई व्यापक बनाएको हो।

रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किएभको हवाई रक्षा प्रणााली सक्रिय पारिएको छ। शहरमा विष्फोटका आवाज सुनिएका छन्। एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन्।

उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। राजधानीका प्रमुखले बिजुली बन्द हुने चेतावनी दिँदै पानी भण्डारण गर्न तथा विद्युतीय उपकरण ‘चार्ज’ गर्न आग्रह गरेका छन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शीतकालीन बिदामा रुसले क्षेप्यास्त्र आक्रमण गरेकामा त्यसको निन्दा गर्दै त्यसलाई रुसी ‘मूर्खता र बर्बरता’ भनेका छन्। मस्कोले युद्ध अपराध गरेको उनको आरोप छ।

युक्रेनी सेनाले देशको उत्तरपूर्वी र दक्षिणमा रुसले कब्जा गरेका क्षेत्र फिर्ता लिएको छ भने औद्योगिक डोनबास क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको छ। युक्रेनलाई वार्ताका लागि बाध्य पार्न मस्कोले उसका ऊर्जा संरचना र अन्य प्रमुख भौतिक पूर्वाधारलाई लक्ष्यित गरी आक्रमण गरिरहेको छ।

प्रकाशित: १४ पुष २०७९ २१:४२ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast