उपनिर्वाचनमा माओवादीको एजेन्डालाई जनताले अनुमोदन गरे : पुष्पकमल दाहाल

हिमाल प्रेस १८ मंसिर २०८१ १५:०५
16
SHARES
उपनिर्वाचनमा माओवादीको एजेन्डालाई जनताले अनुमोदन गरे : पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनमा आफ्नो पार्टीको एजेन्डालाई जनताले अनुमोदन गरेको दाबी गरेका छन्। उपनिर्वाचनको अन्तिम परिणाम आएसँगै आज वक्तव्य जारी गरेर दाहालले यस्तो बताएका हुन्।

‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो। खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौँ,’ उनले भनेका छन्, ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ। विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’

दाहालले नेपाली जनताले विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपब्धिलाई रक्षा गर्दै गणतन्त्रलाई थप सुदृढ गर्दै जनताको सेवामा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए। मंसिर १६ मा ४४ पदका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ पद जित निकालेको छ। मा‌ओवादीका नेताहरूले एक्लै चुनाव लड्दा जनताले एजेन्डालाई साथ दिएको प्रतिक्रिया दिँदै आएका छन्।

प्रकाशित: १८ मंसिर २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast