कांग्रेसले भन्यो : बीआरआई ऋण सहायता लिन सकिँदैन

हिमाल प्रेस ७ मंसिर २०८१ १५:०८
10
SHARES
कांग्रेसले भन्यो : बीआरआई ऋण सहायता लिन सकिँदैन प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले फेरि पनि आफ्नो अडान राख्दै चीनको बीआरआई परियोजनाअन्तर्गत ऋण लिन नसकिने पार्टीको निष्कर्ष सुनाएको छ। शुक्रबार संघीय संसद् भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नमा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नसकिने पार्टीको निष्कर्ष भएको बताएका हुन्।

‘बीआरआईबारे कांग्रेसको केही पनि दोधार नीति छैन। अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो हामीले। हामीले बीआरआई हुँदैन पनि भनेका छैनौं। त्यो समझदारी पत्रमा मैले नै हस्ताक्षर गरेको हो। त्यो हस्ताक्षरमा खाली लगानी, कनेक्टिभिटी, प्राविधिक सहयोगका कुराहरू छन्,’ उनले भने, ‘अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी हामी के चाहन्छौँ भने केनेक्टिभिटीका कुरा सुरुङमार्ग, सडकमा अनुदान सहयोग दिनुप¥यो। अनुदान दिने कुरा नै चिनियाँ सरकारको कयौँ वर्षदेखि कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुप¥यो। अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ ? अहिले हाम्रो ऋणको भार पनि धेरै भएको छ। त्यसकारण चिनियाँ सरकार मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामीले अब ऋण लिने कुरामा जानु हुँदैन।’

महतले चीनसँग सो परियोजनामा आफू परराष्ट्रमन्त्री हुँदा सम्झौता भएको स्मरण गराउँदै त्यसमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव आफूहरूको रहेको स्पष्ट पारे।

‘यो बीआरआई फ्रेमवर्कको कुरा जुन भइराखेको छ। त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरु खाले विषयवस्तुहरू एउटा ब्लकमा जान खोजेको हो कि वा के हो ?,’ उनले थपे, ‘यस हिसाबको कुराहरू पनि हुनु हुँदैन भन्ने हाम्रो कुरा हो। खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ। बीआरआई अन्तर्गत नै अनुदान कार्यान्वयन गरे भयो। ऋण चाहिँ लिनुहुँदैन भन्ने हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ।

प्रकाशित: ७ मंसिर २०८१ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast