काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमीमा सहभागी हुन भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन्। अयोध्याको रामसेवकपुरममा सोमबार विश्व हिन्दु परिषद् धनुषाले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा मुख्यमन्त्री सिंहले भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका हुन्।
सिंहले अयोध्यास्थित राम मन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्। विश्व हिन्दु परिषद धनुषाको नेतृत्वमा अयोध्यामा आयोजना भएको तिलकोत्वस कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री सिंह पनि पुगेका छन्। देशबाहिर भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयबाट सहमति लिनुपर्ने भए पनि उनी सहमति नलिई अयोध्या गएका हुन्।
त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको मान्यताअनुसार जनकपुरधाममा भव्यताका साथ विवाहपञ्चमी मनाइने गरिए पनि अयोध्यामा पहिलोपटक तिलकोत्वस कार्यक्रम मनाइएको हो। विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित राम मन्दिरमा तिलकोत्वस कार्यक्रम मनाउने गरिएको छ। यस अवसरमा जानकी मन्दिरबाट कोसेलीस्वरूप भार (पाहुर) राम मन्दिरमा लैजाने परम्परा छ।
विवाहपञ्चमीका अवसरमा भारतको अयोध्यासहित विभिन्न धार्मिकस्थलबाट जन्तीका रूपमा साधुसन्त आउँछन्। अयोध्याबाट जन्ती आउने परम्पराको थालनी विसं. २०६१ सालबाट भएको हो। विवाहपञ्चमीमा सहभागी हुन भारतीय पक्षलाई जानकी मन्दिरबाट निमन्त्रणा पठाउने परम्परा छ।
विश्व हिन्दु परिषद् धनुषाको नेतृत्वमा मुख्यमन्त्री सिंहसहित जनकपुरधामबाट २५१ थान पाहुर लिएर स्थानीयवासी अयोध्या पुगेका छन्। जनकपुरबाट वीरगन्ज हुँदै आइतबार राति अयोध्या पुगेका उनीहरू सोमबार तिलकोत्वस कार्यक्रममा सहभागी भएका हुन्।
तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहसहित मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रूपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह अयोध्या पुगेका छन्।
जनकपुरधामको जानकी मन्दिर प्रांगणबाट मिष्ठान्न, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली अयोध्या पुगेको हो। ती सामग्री राममन्दिर ट्रस्टलाई हस्तान्तरण गरिएको छ। यही मंसिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ।