कर्फ्युका कारण सुनसान जनकपुरधामको सडक।
काठमाडौँ- सुनसरीको कप्तानगन्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ।
कर्फ्यु लागेपछि बजार पसल बन्द छन् भने सडक सुनसान छन्। सुरक्षालाई दृष्टिगत गर्दै सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै कर्फ्यु आदेश जारी भएको हो। धनुषाका प्रमुख जिल्ला प्रेमप्रसाद लुइँटेलले जिल्लाको सुरक्षा अवस्था अहिले क्रमशः सामान्य बन्दै गइरहेको भन्दै चारैतिर सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।
साउन १४ गते बिहानदेखि सडक जाम, बजार बन्द, तोडफोड र आगजनीका घटना सुरु भएपछि स्थानीय प्रशासन ऐनअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।
उनले सामाजिक सञ्जालमा गलत, भ्रामक र अफवाह फैलाउने सूचनाहरू सम्प्रेषण गरेर समाजलाई थप उत्तेजित वा आन्दोलित नबनाउन आम नागरिकलाई अनुरोध गरेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले जिल्लाबाट संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरू, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेका छन्।


