रविको समर्थन र सरकारको विरोधमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

हिमाल प्रेस ३ कार्तिक २०८१ १५:४०
20
SHARES
रविको समर्थन र सरकारको विरोधमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ- सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वप्रधानमन्त्री रवि लामिछाने पक्राउ परेपछि समर्थकहरू विरोधमा उत्रिएका छन्।

रास्वपाका कार्यकर्ताहरू सभापति लामिछानेको पक्ष र सरकारको विपक्षमा प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले राजधानी काठमाडौँका साथै लामिछानेलाई पक्राउ गरेर लगिएको पोखरामा विरोध प्रदर्शन गरेका छन्। रास्वपाका कार्यकर्ताहरू ब्यानर, पोस्टर, प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले काठमाडौँको माइतीघर, गिरीबन्धु टी–स्टेट परिसर, पोखराको मानवअधिकार चोकलगायतका स्थानमा प्रदर्शन गरेका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका हुन्। काठमडौँ प्रहरीले उनलाई शुक्रबार राति नै कास्की प्रहरीको जिम्मा लगाएको छ।

लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ।

सहकारीको रकम अपचलनसम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले रास्वपा सभापति लामिछानेमाथि कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।

प्रहरीले उनीमाथि सहकारी ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान हुने जनाएको छ।

यही मुद्दामा पूर्वडिआइजी छविलाल जोशी बञ्जारे पक्राउ परिसकेका छन् भने सूर्यदर्शन सहकारीका अध्यक्ष जितेन्द्रबाबु राई (जीबी राई) भने फरार छन्।

काठमाडौँबाट पक्राउ परेका पूर्वडिआइजी जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन्। कास्की जिल्ला अदालतले अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न शुक्रबार २० दिनको म्याद थप गरेको छ।

सहकारी बचतकर्ताको पैसा अपचलन गरेर उनीहरूले गोर्खा मिडिया नेटवर्कृमा खर्च गरेको आरोप लगाइएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =