भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र। तस्बिर : रासस
काठमाडौँ- भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा दुई हजार १८० वटा बिमा पोलिसीबाट करिब २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सोमबार साँझसम्म बिमा कम्पनीहरूले प्राप्त गरेको दाबीका आधारमा यो रकम देखिएको हो।
२०८२ भदौमा जेनजी प्रदर्शनबाट भएको क्षतिबापत करिब २३ अर्ब रुपैयाँको बिमा दाबी परेको एक वर्ष नपुग्दै बिमा कम्पनीहरूले पुनः ठूलो क्षतिपूर्तिको दायित्व व्यहोर्नुपर्ने भएको छ।
हालसम्म पछिल्लो बाढीबाट भएको क्षतिबापत निर्जीवन बिमा कम्पनी तथा लघुबिमा कम्पनीहरूले प्रारम्भिक, अग्रिम तथा आंशिक दाबी भुक्तानीबापत ६७ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेका छन्।
प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा १५९ वटा पोलिसीबाट सबैभन्दा धेरै ६ अर्ब २७ करोड रुपैयाँ बराबरको दाबी परेको छ। सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडमा २४२ वटा दाबीबाट तीन अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी परेको छ।
त्यस्तै, अन्य चार बिमा कम्पनीमा पनि एक अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ। शिखर इन्स्योरेन्स कम्पनीमा दुई अर्ब ९९ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा एक अर्ब ९३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा १ अर्ब १२ करोड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक अर्ब एक करोड रुपैयाँ बराबरको दाबी परेको छ।
अन्य बिमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा २२२ वटा दाबीबाट ८३ करोड ५० लाख ७० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ७५ वटा दाबीबाट ८६ करोड २२ लाख रुपैयाँ र द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ११ वटा दाबीबाट ८२ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा १३१ वटा दाबीबाट ५६ करोड ११ लाख ५० हजार रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेडमा ११४ वटा दाबीबाट ५० करोड ३२ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ११० वटा दाबीबाट ४६ करोड १७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
बिमाको प्रकारअनुसार सबैभन्दा ठूलो आर्थिक प्रभाव सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमाअन्तर्गत ५१८ वटा पोलिसीबाट नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमाअन्तर्गत १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
मोटर बिमामा सबैभन्दा धेरै एक हजार ६६ वटा दाबी परेको छ। ती दाबीको कुल रकम तीन अर्ब सात करोड रुपैयाँ छ। सामुद्रिक तथा पारवहन बिमामा १०४ वटा दाबीबाट दुई अर्ब ४८ करोड रुपैयाँ र विविध बिमामा २९९ वटा दाबीबाट १ अर्ब ३६ करोड रुपैयाँ बराबरको दाबी परेको छ। स्वास्थ्य बिमामा २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
बाढीबाट एक हजार चारभन्दा बढीको मृत्यु भएको छ भने करिब पाँच हजार जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार बाढीबाट भौतिक पूर्वाधारमा मात्रै करिब चार खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिवेदनले उक्त विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। ऊर्जा क्षेत्रमा मात्रै एक खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। सडकमा २२ अर्ब, पुलमा ११ अर्ब ३५ करोड र दूरसञ्चार क्षेत्रमा ६२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।



