काठमाडौँ- सरकारले घरेलु फुटबल प्रतियोगिता सञ्चालनसँगै निजी क्षेत्रका फ्रेन्चाइज प्रतियोगितालाई पनि सकारात्मक रूपमा लिएको जनाएको छ।
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफाको निलम्बनका कारण तत्काल साफअघि समस्या समाधान नभए वैकल्पिक तयारीबारे खेलाडीहरुसँग छलफल भइरहेको बताए।
खेलाडीहरुको मुख्य माग लामो समयदेखि घरेलु लिग सञ्चालन गर्नुपर्ने रहेको भन्दै सरकारले घरेलु लिगका लागि तयारी अघि बढाएको उनको भनाइ छ।
‘खेलाडीहरुको मुख्य माग चाहिँ अब डोमेस्टिक लिग गर्नुपर्यो, वर्षौँ भइसकेको छ डोमेस्टिक लिग भएको छैन भन्ने खेलाडीहरुमार्फत नै आइसकेपछि डोमेस्टिक लिगको लागि चाहिँ हामीले तयारी गरिराखेका छौँ,’ उनले भने।
सरकारले घरेलु लिगसँगै फ्रेन्चाइज मोडलमा हुने प्रतियोगितालाई पनि अघि बढाउन सकिने जनाएको छ।
‘त्यो दुइटै जान्छ,’ पोखरेलले भने,‘एनएसएललगायत अन्य फ्रेन्चाइजहरुले पनि त्यहाँ उहाँहरु सकारात्मक हुनुहुन्छ, इन्ट्रेस्टेड हुनुहुन्छ।’
उनले एन्फा निलम्बनमा पर्नुअघि पनि करिब तीन वर्षदेखि घरेलु लिग हुन नसकेको उल्लेख गर्दै घरेलु लिग सञ्चालन आवश्यक रहेको बताए।
निजी फ्रेन्चाइजले कप मोडलमा प्रतियोगिता गर्न चाहे सरकार त्यसप्रति पनि सकारात्मक रहेको उनको भनाइ छ।



