कोशी प्रदेश : दसैँ अवधिमा २६९ दुर्घटना, १४ जनाको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८१ २०:१४
14
SHARES
कोशी प्रदेश : दसैँ अवधिमा २६९ दुर्घटना, १४ जनाको मृत्यु

इटहरी- कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।

ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले कोशी प्रदेशभर दसैँको अवधिमा २६९ ठाउँमा भएको सवारी दुर्घटना परी १४ जनाको मृत्यु भएको जानकारी दिए।

असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुने पुरुष छन्। १३ जना पुरुष र एक जना महिलाको दुर्घटनामा मृत्यु भएको घिमिरेले बताए।

दुर्घटनामा परी मृत्यु हुनेको संख्या सबैभन्दा बढी मोरङमा रहेको छ। मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

यसै गरी १६ जना घाइते भएका छन्। सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

यसै गरी झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। धनकुटा र खोटाङमा १-१ जनाको मृत्यु भएको छ। १२ दिनमा ७ हजार ५९१ वटा सवारी साधन कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको एसपी घिमिरेले बताए।

गत वर्ष कोशी प्रदेशमा दसैंको ६ दिनमा एक सय ३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए। उनका अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीमा पाँच सय जना ट्राफिक प्रहरी परिचालित छन्।

प्रकाशित: १ कार्तिक २०८१ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =