‘झिझिया’ मा झुमिरहेको तराई-मधेश

हिमाल प्रेस २३ असोज २०८१ १३:२१
12
SHARES
‘झिझिया’ मा झुमिरहेको तराई-मधेश

 ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो
बरहम बाबा झिझिया पर होहि हो सवार।’

तराई मधेशको सहरदेखि ग्रामीण भेगमा अहिले यो गीत जताततै सुन्न सकिन्छ। खास गरेर दसैँका बेला दुर्गा पूजा हुने स्थानमा साँझ र अबेर रातिसम्म ठूलाठूला ‘साउन्ड बक्स’ र ‘लाउडस्पिकर’ हरूमा गीत बजिरहेको छ। दसैँका बेला गाइने यो मिथिला र मधेश क्षेत्रको पारम्परिक लोकगीत हो। यो ‘झिझिया’ गीत बज्नासाथ जो कोही झुमिन्छन्। नाच्छन् र रमाउँछन्।

प्वाल पारिएको तीनदेखि चारवटा गाग्रो। गाग्रोभित्र बल्दै गरेको दीप। ती गाग्रो टाउकोमा राखेर महिलाहरू झिझिया गीतमा नृत्य गरिरहेको दृश्यले सबैलाई झुमाइरहेको हुन्छ। भिझिया नृत्यलाई तान्त्रिक नृत्यसमेत भन्ने गरिन्छ।

यो लोकगीत लगभग लोप भइसकेका बेला दसैँपूजाको आयोजना गर्ने युवा क्लबहरूले  जीवन्त बनाएका छन्। यसअघि ग्रामीण क्षेत्रमा मात्र सीमित यो गीत र नृत्य युवाको प्रयासमा सहरी क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ।

दसैँका अवसरमा भिझिया महोत्सव, झिझिया प्रतियोगिताको आयोजना हुनुले पनि यसको लोकप्रियता र महत्त्व बढ्दै गएको पुष्टि हुन्छ। मधेश प्रदेशको राजधानी जनकपुरधामसहित आसपासका क्षेत्रमा हुने महोत्सव र प्रतियोगिताले झिझियाको महत्त्वलाई थप मजबुत बनाइरहेको छ।

यस्तो छ इतिहास

छैटौँ शताब्दीदेखि ११ औँ शसताब्दीसम्मको समय तन्त्रशक्तिको रहेकाले त्यही बेलादेखि भिझियाको प्रारम्भ भएको जनविश्वास छ। समाजमा तन्त्रविद्याको प्रभाव रहेका बेला बोक्सीको टुनामुनाको प्रभाव बालबालिकामा परेको भन्दै त्यसलाई अन्त्य गर्न झिझिया नृत्यको सुरुवात भएको किंवदन्ती छ।

तन्त्रशक्तिद्धारा बालबालिकामाथि खतरा बढ्न थालेपछि महिलाले आफ्ना सन्तान जोगाउन यो नृत्यको सुरु गरेको संस्कृतिविद् डा.राजेन्द्रप्रसाद विमल बताउँछन्।

यस नृत्यलाई देवी उपासनाको एउटा पक्षका रूपमा लिइन्छ। यस नृत्यबाट टुनामुना परास्त भएको विश्वास छ। ग्रामीण क्षेत्रमा रहेको ब्रह्म स्थान (डिहबार) पुगेर मन्त्र सिद्ध गर्ने गरिन्छ भने गीत गाएर देवीको रूप शृ‌ंगार र ब्रह्मको वर्णन गरी खुसी पारिन्छ। दसैँमा बज्ने झिझिया गीतमा पनि देवी र ब्रह्मको वर्णन गरिएको हुन्छ।

यस नृत्यमा महिला बोक्सी र टुनामुनाबाट बच्न घेरा हाल्ने गर्दछन्। बीचमा एक महिला प्वाल भएको गाग्रीमा बलिरहेको दीप राखेर टाउकोमाथि राखी नाच्ने गर्छिन्।

अन्य महिला गीतका माध्यमबाट बोक्सीलाई गाली गर्दछन्। गाग्रीमा भएको छिद्रलाई बोक्सीले गनेर त्यसको मृत्यु हुने जनविश्वास छ। यसैगरी गाली गर्दा सहन नसकी महिलासँग झगडा गर्ने र बोक्सीको पहिचान हुने जनविश्वास पनि रहेको बताउँछन् प्राध्यापक परमेश्वर कापडी।

किन बन्दैछ विवादित?

विगतमा ग्रामीण क्षेत्रमा गाइने झिझिया गीत र नृत्य यतिबेला सहरी क्षेत्रका लागि पनि लोकप्रिय भएको पाइन्छ। तुलनात्मक रूपमा ग्रामीण क्षेत्रमा लोप हुँदै गएको भिझिया नृत्य र गीतलाई सहरी क्षेत्रले जीवन्तता दिने प्रयास गरेको छ। विगतमा ग्रामीण क्षेत्रका महिला झिझिया गीतमा नृत्य गर्दै घरघर पुग्ने गर्दथे।  अहिले यो परम्परा लगभग लोप भइसकेको छ।

दसैँका अवसरमा दुर्गापूजामा जुटेका जनकपुरका युवाले हरेक साँझ भिझिया नृत्य आयोजना गर्दै आइरहेका छन्। आधुनिकताको व्यापक प्रभाव बढिरहे पनि दसैँको बेला बज्ने झिझिया गीतले युवा पुस्तादेखि बुढापाका सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ।

पछिल्लो समय ठाउँठाउँमा हुने झिझिया नृत्य विवादितसमेत बन्न थालेको छ। पारम्परिक लोकशैलीभन्दा इतर नृत्यहरूमा अश्लीलता देखिन थालेपछि झिझिया नृत्य विवादित बन्दै गएको हो।

साहित्यकार धीरेन्द्र प्रेमर्षि झिझियाकै नाममा भद्दा गीतहरू बन्न थालेपछि विवादित बनेको बताउँछन्। उनी भन्छन्, ‘कानको जाली नै फुट्नगरी अनेकौँ भद्दा गीतहरू बनेका छन्। भूतप्रेत, बोक्सीजस्ता अप्रासंगिक विषयहरू गीतमा समावेश गर्न थालिएपछि मानिस वितृष्णा र अरुचि फैलिएको हुनसक्छ।’ झिझियासँग जोडेर बोक्सीको दुष्प्रभावबाट जोगिने जस्ता शब्दहरूले गीतको गरिमालाई घटाइरहेको उनको भनाइ छ।

प्रकाशित: २३ असोज २०८१ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast